विवशता / गीता त्रिपाठी
धर्तीको सुकोमल छटामाथि
मीठो स्पर्शले छोएको गुलाफ
मुस्कुराउन सकेको छैन
मन खोलेर
यौवनको पहिलो प्रहर
आँखा-आँखामा फुलेका बेली-चमेलीहरू
उसका मनका मीठा चाहनाहरू
बिछ्याउन पाएकी छैन
मुटु साँटेर ।
वन, पाखा, भञ्ज्याहङ्हरूमा
सङ्गीता-क्वैलीको संसर्गमा
उसले पनि निकै मीठा गीत सिकिसकेकी छ,
गाउन सकेकी छैन अझै
मनका भावना पोखेर ।
गैरीका कुवा र बेँसीका गोठमा
खेतका आली-आली
हँसिया र डोकोमा
घाँसका भारीले थिचिएका सपनाहरू,
ती निश्छल आँखाबाट झरेका पीडाका अनुभूतिहरू,
चिच्याउन सकेकी छैन, विद्रोह गरेर ।
साँझ जूनकीरीको पिलपिल उज्यालोमा
चढ्दै जाँदा जिन्दगीको पहाड
दिनभर थाकेको उसको शरीर
उड्न खोज्छ, जूनकीरीसँगै
सिर्सिरे हावामा मन, बरालिन्छ एकछिन
यौवनका आकांक्षाहरूमा ऊ,
रमाउन पाएकी छैन
मनको बह पोखेर ।
दिनभर रोपाहार बनेर बेँसीमा
दोहरीमा फुकेको मन,
बेलुका एक मुठ्ठी निस्तो मकै,
गहका ताता आँसु र विपन्नताको नुनिलो स्वादसँगै
चपाउँदै -निल्दै उक्लिरहिछे उकालो,
जिन्दगी बाँचिरहिछे रूखो-सुखो
यौवनका रहरहरू
निलिरहेकी छे बेस्वादसँग ।