भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सपना अर्थात् जिन्दगी / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
हत्या गरेर
एकपछि अर्का सपनाहरूको
मान्छेले फेरि पनि
देख्न छाडेका छैनन् सपनाहरू
 
सपनाहरू
भविष्य बनेर आउँछन् कि अखबारका पानाहरूमा?
सपनाहरू
आकाङ्क्षा बनेर झुल्किन्छन् कि घरका छानाहरूमा?
सपनाहरू
रहर बनेर पोखिन्छन् कि जिन्दगीका पानाहरूमा?
सपनाहरू
अन्न बनेर भरिन्छन् कि पाथी र मानाहरूमा?
मान्छे सधैँ सधैँ गरिरहन्छ
यस्तै यस्तै जपनाहरू
मान्छे विपनाभरि पनि देखिरहन्छ
यस्तै यस्तै सपनाहरू।
 
एउटा सपनाको क्षतिसँगै
पर्खिरहन्छ मान्छे
एकपछि अर्का सपनाहरूको जुलुस
अनिष्ट चिताउँदैन मान्छे
सपनामा
पीडाको कल्पना गर्दैन मान्छे
सपनामा
रातभरि सपनाको खेती गर्ने मान्छे
विपनासँग भयभीत हुन्छ
यथार्थसँग डराउँछ
र भाग्न खोज्छ
फेरि सपनाहरूकै कोलाजतर्फ
आजकल मान्छेको बस्तीमा यथार्थ
घृणाहरूको नदी भएर बग्न थालेको छ
वैमनस्यताको बनमारा घारी भएर
फैलन लागेको छ फूलबारीहरूमा
अबलाको अस्मिता लुटेर
बेपत्ता हुन थालेको छ
सत्य सुन्दर हुन्छ भन्ने अर्थमा
कसरी गाओस् मान्छेले
विध्वंसका गीतहरू
अप्राकृतिक यथार्थहरूसँग कसरी गरोस्
सम्झौता मान्छेले
र पनि मान्छे हिँडिरहेछ
र पनि मान्छे दौडिरहेछ
सपनाहरूकै पछिपछि।
वर्तमान सुसेलिरहेछ
पीडाका ताता सुस्केराहरू
भाइभाइ बिचको आक्रमण प्रत्याक्रमण
कुनै प्रिय खेल झैँ मञ्चित हुन्छ बस्तीहरूमा
युगौँदेखि आशावादी रहरहरूको
मलामी हिँड्न विवश छ मान्छे हरेक विपनाहरूमा
अपूरा अभिलाषाहरूको बुर्की छरेर चोकचोक र बाटाबाटामा
मृत्युगीत गाउँदै हिँडिरहेछ मान्छे मन नलागी नलागी।
 
सपनाहरूमा छैनन् कतै निराशाका पदचिन्हहरू
सन्त्रस्त्र विपनाहरूले थिल्थिलिएको मान्छे
सपनाको आगोसमा निस्पि्कक्री निदाउँछ
सपनाको संसारमा निर्भय विचरण गर्छ
सपनाबाटै लिएर
बाँकी जिन्दगीको उधारो सास
माछे समर्थ हुन्छ विपना बाँच्न
मान्छे सक्षम हुन्छ विपना भोग्न
र मान्छे आशावादी हुन्छ
फेरि सपना देख्न।
 
धेरै पटक सपनाहरूको मलामी गएर पनि
मान्छेले देख्न छाडेको छैन सपनाहरू।
 
युगौँदेखि सपनाको नेटकर्वमा छ मान्छे
कति सपनाहरूलाई उसले
सिरक बनाएर ओढेको छ जाडोमा
कति सपनाहरूलाई
मन पर्ने भोजन सम्झेर पकाएको छ भाँडोमा
आँखैको डिलमा पहिरो जाँदा
कति सपनाहरू पुरिएका छन् झरेर आँसुसँगै
भावनाको भेल पसेर मनका गराहरू जलमग्न हुँदा
कति सपनाहरू डुबेका छन् भावनासँगै
कसले भन्छ सपना क्षणभरिलाई हो?
सपना सधैँसधैँका लागि रहेछ
सपना त जिन्दगीभरिलाई रहेछ।
 
अगणित सपनाहरूको बिचमा छ मान्छे
अझ अगणित सपनाहरू मान्छे बिचमा छन्
कसले भन्छ
बन्द आँखाले मात्र देखिन्छ सपना?
मान्छेसँग बन्द आँखाका भन्दा
खुल्ला आँखाका सपनाको बिस्कुन ठुलो छ
सबै सपनाले जिन्दगीको 'नेटवर्क' भेट्छन् भन्ने छैन
जिन्दगीसँगको 'कनेक्सन एरर' भएर
कतिकति सपनाहरू रिसाइकल बिनमा
डम्प भएको दुर्दान्त पीडा पनि छ मान्छेसँग
थाहा छ अब सम्भव छैन यिनलाई रिस्टोर गर्न
र फेरि यति बेला एकपटक
जिन्दगी नामको 'हार्ड डिस्क'मा
मान्छे क्रिएट गर्न लागिरहेछ
सपनाका असङ्ख्य फोल्डर र फाइलहरू।
 
सपनाहरू जति जन्मन्छन्
सपनाहरू त्योभन्दा बढी मर्छन्
सपनाहरू झन् त्योभन्दा बढी जन्मन्छन्
सपनाहरूको रङ्गशालामा खेल्छ मान्छे
सपना अर्थात् जिन्दगीको खेल
सपनाहरूको जुलुसमा चिच्याउँछ मान्छे
सपना अर्थात् जिन्दगी जिन्दावाद
सपना देख्ने सपनामा रमाउँछ मान्छे
सपना अर्थात् जिन्दगी
सपना र जिन्दगीका रहरहरू जतनसाथ च्यापेर
खोजिरहेछ मान्छे सपना अर्थात् जिन्दगीका पदचापहरू।
 
सपना सपना हो यो पनि बुझेको छ मान्छेले
सपना कल्पना हो
यो झन् बढी जानेको छ मान्छेले
सपनालाई सपनाकै रूपमा हेर्नुपर्छ
यो पनि मान्छेलाई जति थाहा छैन अरूलाई
हुनत सपना आत्मरति पनि हो
हुनत सपना कायरताको ढाल पनि हो
हुनत सपना सपना बाहेक केही हैन
हुनत सपनामा भ्रम बाहेक केही छैन
हुनत सपना अन्धाले छामेको हात्ती मात्र हो
सबै सबै थाहा छ मान्छेलाई
यो पनि थाहा छ मान्छेलाई
त्यो पनि थाहा छ मान्छेलाई।
 
तैपनि मान्छे चाहन्छ
ऊ सपना भएर बाँचोस्
चढेर सपनाका पोथ्राहरू
हेरोस् जिन्दगीका यामहरू
आँगनभरि सपना फिँजाएर
लडिबुडी गरिरहोस् सपनाहरूसँगै
र बाँचिरहोस् सपनाजस्तै सुन्दर जिन्दगी।
 
सपना मान्छे हो
मान्छे सपना हो
सपनाकै अनन्त गीता पढिरहेछ मान्छे युगौँदेखि
सपनाकै अन्त्यहीन महाभारत फलाकिरहेछ
बुद्ध एउटा सपना
जिसस एउटा सपना
सपनाको महागाथा आज पनि गाइरहेछ
एउटा सुकरात
भरेर ह्यामलकका प्यालाहरू हाँसी हाँसी।
 
हत्या गरेर
एकपछि अर्का सपनाहरूको
मान्छेले फेरि पनि
देख्न छाडेका छैनन् सपनाहरू।
 
धेरै पटक सपनाहरूको मलामी गएर पनि
मान्छेले देख्न छाडेको छैन सपनाहरू।