भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रुनु भनेको / अभि सुवेदी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:16, 25 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= अभि सुवेदी |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

रुनु भनेको
यसै आफूभित्रको आकास
निचोर्नु रहेछ।
 
रुनु भनेको
आफ्नैवरिपरि बनेको
बाबेलको धरहराका
देउताबाटश्रापित मानिसहरुका
बहुल भाषाका हल्लामा
एउटा आफ्नो अघोषित भाषाको हल्ला
थप्नु रहेछ।
 
रुनु भनेको
हिजो सानो छँदा जूनतिर फर्केर
आमालाई घुर्क्याउँदै निर्बाध क्रन्दन गरेको
अलिकता ढल्कँदो बयमा ल्याएर
उच्चरित गर्नु अनि त्यस्को ध्वनिले
आफैँ चकित पर्नु रहेछ,
बालकले देखेको जून
आफ्नै अक्षरका थुम्कामा झुल्केको हेरी
त्यसमुनि बसेर गनगन गर्नु रहेछ।
 
रुनु भनेको
कहीँ काशीमा महाकविले लेखेको
'भैगो मलाई अब रुन देऊ
सुस्क भयो अब उरको सार'
पढेको पाठले बनेको
कविताको आकासबाट
सानो झरी पोखेर बस्नु रहेछ।
 
रुनु भनेको
तिमीले चिसो दिनमा
केही न्यानो घाम
मेरो कोठामा पठाएर जनी गरेको
एउटा मुर्च्छना रहेछ आकासको
जस्लाई लिएर गाउँनु
एउटा नियति रहेछ शब्दक्रीडाको।
 
रुनु भनेको अक्षर लेखे पग्लिने
मनभित्र फर्के पहिरो जाने
केही बोकेर उठे तिरोधान हुने
हिजोको कुरा सम्झे आँधी उठ्ने
भोलिको कुरा सम्झे डम्म हुस्सु लाग्ने
कसैलाई भेटे
पाठशाला नगई भागेको बालक
गुरुले समातेजस्तो बिबेकशून्य हुने
चिन्ता गरे समय नपुग्ने
नगरे किनारा नभेटिने गरी पौडिरहने
हाँसौँ घामपानीको आकासले निथु्रक्क पार्ने
उठौँ जाने ठाउँ बिर्सिएजस्तो हुने
बसिरहूँ आसन भिजेर लथ्पथ् हुने
यस्तै हुने रहेछ।
 
रुनु भनेको सबैभन्दा राम्रो
यत्तिनै आँशु लिएर
केही आशाका घामहरुमा बाहिर उठी
त्यहाँदेखि यहाँसम्म उठेको
इन्द्रेनी बनाउँनु हुने रहेछ।
 
बरु जे होस् भक्कानिएर
आफूभित्र झञ्झा चलाएर
जगतितलको एउटा एक आफ्नै
समय,रेखा कोर्नु रहेछ रुनु,
बरु मुक्तिको बोलीमा घोल्नु रहेछ आँशु,
बरु पहाड चढ्नु जस्तो,
बरु कुम्लो बिसाएर एकछिन चौतारामा
एकै भाका भए पनि सुरिलो गीत गाउँनु रहेछ रुनु।
 
रोइनै सकेपछि
आँशु नै सकिएपछि के भो र
रुनुका आरम्भका प्रहारभन्दा माथि उठेर
मुक्त भएर फेरि ढुङ्गो बोक्न
फेरि फेदीतिर झर्दा
गुमाउने कुरा केही नभएको
डराउँने कुरा सकिएको
रुनुले दुखेको मनहरुबाट थाकेको
एक सिसिफस भइने रहेछ,,
मुक्त, सुस्त र आकासजस्तो
फराकिलो होइने रहेछ।
 
तर रुवाउँनेको सम्झना भने
बिहान नदी किनारमा अल्भि्कबसेको
घामका सिँढी चढेर माथि उठ्न नमान्ने
कुइरोजस्तो हुने रहेछ,
हिजो रोएको मनमा
कर्याङ्कुरुङ्का हुलले
टाढा सहगान गरेको सुनेर
मायाँलु घामछाया
मुरलीजस्तो बजिरहने रहेछ।
रुनु भनेको यस्तै रहेछ।