ठाडो उभिएको आकाश / सुमन पोखरेल
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ,
आँधीमा टेकी हिँड्नुपरेको बेला छ,
आगो बर्सिएर अनवरत, पानी ओढ्नुपरेको बेला छ।
अन्धवेगले बहेको बतासमा झुन्डिएर
ज्यान जोगाउनुपरेको बेला छ
आँगालामा मृत्युलार्इ बोकेर जीवन खोज्नुपरेको बेला छ।
मनहरूबाट कतै उडिभागे कलमहरू,
सङ्गीनहरूको पोखरीमा औँलो चोपेर लेख्नुपरेको बेला छ।
सद्दे आफूलार्इ भ्रममा छु कि भनेर
भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग
जँचाइमाग्नुपरेको बेला छ।
आकाश अब त्यो आकाश रहेन,
जुन बेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू,
एकअर्कालार्इ देखेर रमाउँथे ताराहरू।
भररात उज्यालो बोकेर बिहानीलार्इ सुम्पी जान्थ्यो जून
र यौवनजस्तै सुन्दर रहर लिएर
ओर्लन्थे धर्तीमा किरणहरू।
अहिले त,
ठाडो उभिएको आकाशमा ठोक्किएर
क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त भर्इ झरिरहेको बेला छ,
हाँस्दै दौडिएका रहरहरू टुक्रिई छरिइरहेको बेला छ,
खेल्दै उफ्रिएका स-साना नानीहरूका विश्वास च्यात्तिइरहेको बेला छ,
माथि हिमालदेखि बग्दै आएका नदीहरू टक्क रोकिएको बेला छ।
घामजूनले कोल्टो परेर हिँड्नु परेको बेला छ।
वास्तवमा,
मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्,
रहरहरू कतै नठोक्किर्इ दौडिउन्जेल नै रहर रहँदा रहेछन्,
धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदोरहेछ,
हावाले हावाझैँ बहे मात्र प्राण जोगाउने रहेछ,
पानी ओढिइएर हैन, पिइएर मात्र जीवनदायी बन्न सक्दोरहेछ।
वास्तवमा,
सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्।
आकाश ठाडो उभिँदा
सम्मानजनक बाँच्न चाहनेहरूलार्इ साह्रै गाह्रो हुने रहेछ।