मरुभूमिको घामसँग / ज्योति जङ्गल
यो तातोको के बयान गरुँ
घामजस्तो
कि आगोजस्तो
आफ्नै मुटु छ ।
मरुभूमिका उँटहरुसँग
चरेको मेरो बैंस
पग्लिएर वालुवामा मिसिइसकेको छ ।
भर्खर आइपुगेको छ हातमा
तिम्रो हृदय बोकेर चिट्ठी
आफ्नै मन बोल्न नसक्ने
तिम्रा गुनासाहरुको कोशेली
आगोकै उपस्थिति जस्तो
उघार्न तर्सिरहेछु।
नसोध, कुन दिन आइपुग्छु होला !
उमेर बेचेको नितान्त असक्त म
आलस्य मात्र बाकी राखेर
खै कुन दिन आइपुग्छु होला ?
म हिँड्दा मीठा थिए तोते बोलीहरु,
ती हुर्किए होलान्
किशोरे अङ्गहरुमा,
तिनका आवश्यक्ताका अधिकारहरु
कति धारिला हुदैछन् ?
तिनैले काटियौ होला,
प्रतिविम्वमा मात्रै रुप राखेर
पीडामै साटियौ होला ।
यो शुन्यताको के बयान गरुँ ?
यो एकान्त,
यो एकलास,
मेरो बोली आफ्नै घाँटीमा कैद छ ।
मृगतृष्णामा हराएका मेरा गीतका लहरहरु
उडेर वाफसँग बिलाइसकेका छन् ।
आफ्नै कसुरको सजाय भोगिरहेको छु कि
सवैलाई सजाय बाँडिरहेको छु ?
केवल प्रश्नहरु हुनेछन्
मसँग फर्केका
मेरो शरीर पनि मृत भइसक्ला
मेरो जिर्णता खुद मलाई प्रश्न गर्छ ।
तिम्रो प्रश्नको बद्ला
फेरि प्रश्न गर्न हारेको बेला
म यहि मरुभूमिको घामसँग सोध्छु
ए घाम Û के तँ मेरो मुटुभन्दा पनि तातो छस् ?
कि तँ पनि मजस्तै
आगो बोकेर जिउन
अभिशप्त छस् ?