Last modified on 20 अगस्त 2016, at 22:10

विकासोन्मुख देशको मान्छे / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:10, 20 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अनुहारमा -
'क्षय' को आफ्नै एक्सरे टाँसेर
निरन्तर जिन्दगीसँग युद्ध बोल्दै
पोल्टाभरि ठेसका बालीहरु थापेर
आफैँलाई आफ्नो टाङमुनि छिराएर - चटकेले जस्तो
वा, बोक्न नसकेर भारी
जेब्राक्रसको हाराहारीमा
डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने
प्रिय बटुवा !
खबर पठाइदिनू - कोही हात
पोस्टरमा आफ्नो अनुहार खोज्दै हिँडेको
- ऊ मेरो छिमेकी हो
 
छातीमा -
ठूलो साइनबोर्ड झुन्डयाएर
वा, आँखामा
अनुनयको बिस्कुन सुकाएर
साँझ/बिहान
अस्पतालअघिल्तिरको पेटीमा
अथवा, रेडक्रसको कुनै भवनअगाडि
रगत बेच्न आतुर
दमकल घरमा आगो लागेजस्तो !
कुनै तन्नेरी अनुहार देख्नुभो भने
प्रिय, मान्यजन !
दया राखेर
अलिकति रगत किनिदिनू - उसको
रगत बेचेर
 
 
डक्टरको फी चुकाउन निस्केको
ऊ मेरो एक्लो छोरो हो
 
कुनै कलाकारले
बनाउन सुरु मात्र गरेर छाडेको मूर्ति जस्तो
भीर खोस्रँदा खिइएका
औँलाविहिन हातहरु
बगर-यात्रामा साटिएका
छियाछिया पैतालाहरु
र आफूभन्दा तेब्बर वजनको भारी खोज्दा थिचिएको
फिस्टे छातीसहितको आकृतिसँग
हिँड्दाहिँड्दै बाटोमा जम्काभेट भयो भने
ओठमा मुस्कानको रेखी छैन भनेर
आँखामा उन्मादको चहक नदेखेर
प्रिय पर्यटक !
भूत भनेर ऊसँग नतर्सनू
बिहान/बेलुकी
मैले ढोग्ने गरेको आस्थाको प्रतीक
-ऊ, मेरो बाबु हो
ऊ, विकासोन्मुख देशको नागरिक हो