मेरो शब्द ( ? ) / मनप्रसाद सुब्बा
फूलको पराग यौटा अक्षर पाएँ ।
एक छेस्का ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर
अक्षरहरू नै भइदिए । अनि यी अक्षरहरूलाई
एक थोपा पसीना र एक थोपा आँसुले मुछेर
यौटा शब्दको आकृति दिएँ
र मेरो सासको गन्ध हालेर
मेरो स्वरको तरङ्गसित छोडिदिएँ ।
मबाट छुटेपछि
त्यो शब्द पूरै डुलन्ते भयो ।
जता गयो त्यतैको भयो । जोसित बस्यो उसैको भयो ।
तर अडिएर कतै बस्न सकेन ।
अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि
त्यसले मात्रै चिन्छ मलाई । म राम्ररी चिन्दिनँ त्यसलाई ।
त्यसले कहिले काहीं बोलाउँछ मलाई । तर त्यसको स्वर
निकै भिन्दै भएको छ । भिन्दै भइरहन्छ ।
एक पल्ट सोधेँ त्यसलाई ---
‘तँ किन यसरी बद्लिरहन्छस् हँ, मेरो शब्द ?’
त्यसले ठाडै जवाब दियो ---
‘अरे ! तिमी चैं किन बदलिन चाहँदैनौ ?
के तिमीले आफूलाई कहिल्यै नबद्लिने भगवान सम्झेको?
बद्लिरहनुमा आनन्द छ । बद्लिरहनुमा त
गति छ अनि जीवन छ । बुझ्यौ ?’