प्रश्नचिन्ह अग्लो उठाएर / मनप्रसाद सुब्बा
सुँडहरू अग्लो प्रश्नचिन्ह उठाएर
दस हजार हात्तीहरूको आवाजले
यो सहरलाई सोध्नु –
यो के भएको ?
ल्याम्पपोस्टको टुप्पाटुप्पामा / अनि
ट्राफिक पुलिसको टाउकोटाउकोमाथि बसेको गिद्दहरुले
घोप्टेर के हेरिराखेको हँ ?
खै कता गयो देउसेहरूले दिइराखेका –
ए यस्सै घरका परेवापन्छी
उड्दामा क्यारे सुर्जे छेल्ने
बस्दामा क्यारे पिर्थिवी ढाक्ने..
अचेल
कागहरूको कोरस मात्र कानभरि थुर्रिन्छ सडक-नाटकमा दिनहुँ
अपशकुनको सूचना रूँदै दिन्थे हाम्रा कुकुरहरूले उहिले
अब चैं सबैतिर
संवेदना साँच्चै सुकेकै हो त ?
आठ-दस हजार इलेक्ट्रिक रन्दाहरूलाई
यहाँ बीच सडकमा रून बोलाऊँ
कतै झन्डाहरुबाट
एकदुइ थोपा संवेदना
तुर्किन्छ कि !
तेंत्तीस कोटी देवी-देउताहरू कहाँ के गर्दैछन् हँ ?
पाण्डवहरूको नाममा कुन्नि को-को अनामहरू
तेंत्तीस चोटि डढिसके लाहाघरभित्र !
ए माङहिमका फेदाङमा र बिजुवाहरू,
निस्कन हौ तल
बीच चोकबजारमा लिङ्गो ठड्याएर
कम्प छुटाउँदै उफ्र
उफ्र
उफ्र
उफ्र
अनि फलाक्नुपर्ने कुराहरू सप्पै
फलाक फलाक फलाक