Last modified on 23 अगस्त 2016, at 20:25

भाषाको गहिरो गुफाबाट / मनप्रसाद सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:25, 23 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मेरी आमाको पाठेघर मेरो पहिलो स्कूल
त्यहीँ नै मेरो अवचेतनले
आमाको आँ सुनेर अलङ्कार बुझ्यो
हो, यै भाषाको गहिरो गुफाबाट
मैले रुने स्वर भेट्टाएँ
अनि हाँस्ने उज्यालो पाएँ
अवचेतनको खोस्टा चुच्चोले छेंडी
त्यो स्वर, त्यो उज्यालो
चेतनाको क्षितिजमा झुल्कियो
र त्यो उज्यालो स्वरले
उसको हातको औंला पक्रन लाएर
मलाई घरको सँघारबाहिर डुल्न निकाल्यो
अनि ताते गर्दागर्दै म केही पर्तिर पुगेपछि
मैले पक्रिराखेको उसको हात हरायो
तर म भने हिंडिरहेको थिएँ
आफैलाई नपत्याएर आफ्ना खुट्टाहरु हेरेँ
अनि उही स्वरले मेरो कानमा भन्यो –
‘म अब तिम्रो यात्रा भइसकें ।‘

यो यात्राको थाल्नीमा म त तोते बोल्दाबोल्दै
गीत गाउन थालेछु
गीत गुनगुनाउँदै टहल्दै यौटा चप्लेटी ढुङ्गामा ढल्केथें
अनि सपनामा त्यै स्वरले मलाई भन्दैथ्यो –
‘तिम्रो विपना र सपनाको भाषा मै हुँ ।‘
झसङ्ग ब्युँझिँदा देखेँ –
छेवैमा यौटा घाँसी घाँस काट्दै रहेछ
घाँस बेचेको पैसाले
इनार खनी लोककल्याण गर्ने उसको कुरो सुनेपछि
मैले अनायास आफैलाई यसरी धिक्कारें –
‘घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो !
मो भानुभक्त धनि भैकन आज यस्तो ।।‘

अनि फेरि त्यै स्वर
मेरो थाप्लोमा बसेर बोल्यो –
‘यो श्लोक वास्तवमा तिम्रो होइन, मेरो हो ।
तर हामी दुइ एकै नाभीमा बाँधिएकोले
यो श्लोक तिम्रो पनि हो । अझ म
गोठाला-खेतालाको पनि स्वर भैदिएकोले
यो कवितामा चलाइएका शब्दहरु उनीहरुका पनि हुन् ।‘

त्यसपछि त म
त्यै स्वरले बोलेको मेरो भाषाको स्तुति गर्दै
रामायण लेख्न बसेँ ।