भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वी/अपृथ्वी / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:27, 23 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

उनीहरूले एक दिन मलाई
विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर
यौटा यस्तो ठाउँमा पुर्याए
जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए
अनि ती प्रत्येकसित मेरो परिचय गराइयोl
उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l
उनीहरूका शरीरबाट निस्किरहेको अत्तर-बास्नाबिच
मेरो पसिनाको गन्ध बेपत्ता होला जस्तो भइरहेको थियो l
अनि जब त्यो भव्य भवनको खिड्कीबाट बाहिर हेरिपठाएँ
पृथ्वी त कता हो कता टाढा लाग्यो ..
म उकुसमुकुसिएँ
भित्रभित्रै छटपटिएँ
र त्यहाँबाट उम्कने उपाय सोच्न थालेँ...

केही छिनपछि
माझको मन्चबाट
एक जना देवताले वक्तव्य दियो –
‘हामी पृथ्वी परिवर्तन गर्ने परिकल्पनामा लागिपरेकाछौं..’
अनि उसले
दिव्य पावर-पोइन्ट माध्यमद्वारा
परिकल्पनाको प्रारूप प्रदर्शन गरिरहेको थियो l
आफ्नो प्रस्तुति टुङ्ग्याउँदै उसले भन्यो –
‘आज हामीबिच हाम्रा अतिथि
पृथ्वीको पल्लो पाखामा बस्नेहरूका एक प्रतिनिधि छन्
(मतर्फ दाहिने हात तेर्स्याउँदै)
उनले हाम्रो परिकल्पनामाथि मन्तव्य राख्नेछन् l’

अकमक्क पर्दै उठें म
तर अचम्म
कि हठात् मेरो वाक्के कड्केर फुट्यो –
‘पृथ्वीलाई यसरी टाढा पार्ने यो अपृथ्वी
जहाँ पसिनाको गन्धले निर्धक्क सास फेर्न पाउँदैन,
कसको सृष्टि हो यो ?
अपृथ्वीका अदृश्य अक्कलहरू
किन पृथ्वीलाई पिर्ने परिकल्पनाहरू गरिबस्छन् ?
ए पृथ्वीवासी हो !
उठ
अनि त्यो अपृथ्वीको अ-लाई
च्वाट्ट छिन्ने गरी काट !
त्यै अ-ले सिर्जेको हो यो दुरत्वको अँध्यारो भ्वाङ !’