पुनश्चः / रमेश क्षितिज
एउटा पुरानो तानाशाह शताब्दीको
निला गिजामा
लत्पत्तिएर बग्दैछ अझै समयको कालो रगत,
कतै एकान्त कुनामा बसेर
पढिरहेछ एउटा वृद्ध व्यापारी
एक्काइसांै शताब्दीका कविताहरू – इन्टरनेटमा,
नेपथ्यमा
लोकनृत्य गर्दैछन् केही मोर्डन आदिवासीहरू,
आज आकाश उघ्रिएको पनि छैन
र गुँडबाट उडेका छैनन् पक्षीहरू,
रातभरि बमवर्षा गरिएको सहरमा
ईश्वर कस्टडीमा छ कतै
बिहानै–बिहानै चलिरहेछ अखण्ड प्रार्थना !
बन्द छन् स्कुल, कार्यालय
र कस्मेटिक पसलहरू,
आँखामा अन्त्यहीन त्रासदीको चश्मा
ओठमा उदासीको लिपस्टिक लाएका स्वास्नीमान्छेहरू
ओजोन तह च्यातिएको आकाशमुनि मौन छन् घरभित्र
कुनै गीत नगुन्गुनाएर
छैन, चुलो बलेको छैन,
गाउँगाउँमा पसेर सहर
लखेटिरहेछ गाउँबाट गाउँलाई
गाउँ शरणार्थी छ – कतै हिमालको फेदीमा
कतै दुर्गम पहाडतिर,
खुर्पेटोको ठाउँमा बिनालाइसेन्स पिस्तोल !
रगतले मुछेर अक्षताहरू
झुप्राको पानस सल्काएर उद्घाटन !
मनाइँदैछ यो कुन अनौठो ताण्डव–उत्सव ?
पुनश्चः
यसबेला अशान्त–अशान्त हामीहरू
बुद्धको हराएको अस्तु र चोरी भएको दाँत
खोज्दै हिँडिरहेछांै
हिँड्दै खोजिरहेछांै ।