अतीतका गीतहरू / रमेश क्षितिज
जुनेली रातमा
टहटह जून हेरेर छतमा
कि झरीमा आधी झ्याल खोलेर
चुपचाप एक्लै कोठामा,
कि चर्को घाममा कुनै शितल छायामुनि
बिसाउनीमा
फुर्सदको कुनै क्षण बज्नेछन्
मनमा फेरि
बिर्सिसकेँ कि भनेका ती अतीतका गीतहरू,
गीतका पंक्तिमा
लहरै झुन्डिएर आउनेछन्
त्यो बरालिँदै उडेको बैरागी बादल,
चाप सिउरेर केशमा
अल्छिदै बसेकी युवती पहाड,
हिउँदको सङ्लो – गितांगे नदी
र गोधुलीमा पूर्व हिँडेको अन्तिम रेलको
छक्छक्–छक्छक् !
छक्छक्–छक्छक् !
के रहेछ र जीवन भन्नु आखिर !
टुक्राटुक्रा पारेर जिन्दगी
अलिकति यो देशलाई भन्यो
अलिकति साथीसंगी र प्रियतमालाई भन्यो
केही भाग राखिछोड्यो सन्तानका लागि,
बाँड्दाबाँड्दै सकिएको प्रसादजस्तो
एकपसर आफूलाई भन्यो
र हेर्दाहेर्दै उडिजाने कपुरजस्तो
व्यर्थै माया ग¥यो बेइमानी त्यसलाई !
अतीतका गीतहरू बिर्सी हिँडेपछि
अभिशप्त कुनै ढुंगाजस्तो हुन्छ मान्छे,
उजाड कुनै खण्डहरजस्तो
कि झन्डा झुकेजस्तो हुन्छ
अतीतका गीतहरू भुलिसकेको देश,
सबैले पन्छाएर हिँडे पनि - आफ्नो भन्नु त आखिर
ती बिर्से भनेर नबिर्सिसकेका अतीतका गीतहरू
हुँदारहेछन् !
एकान्तका साथीहरू तिनैले
बाटो अवरुद्ध पार्न तेस्र्याइएका चट्टानहरूलाई
सिँढी बनाएर हिँड्न सिकाउनेछन्
र पढाउनेछन्
जिन्दगी महाकाव्यका पाना–पाना अध्यायहरू !