त्यो मुस्कान / मनप्रसाद सुब्बा
त्यो मुस्कान
जसलाई फक्रिँदो फूल अर्थात्
झुल्किँदो घाम या जून भनेर
उहिल्यैदेखि सुनिआएको बिम्बमा हेर्न चाहिनँ।
‘आह!’ मात्र भनें
अनि त्यो विस्मयलाई
व्याख्यामा बिस्कुन फिँजाउन चाहिनँ।
तर अब यत्ति चैं भन्नैपर्छ मैले
कि त्यो मुस्कानको क्षितिजमा
यो लाखौँ वर्ष पुरानो धरती एकदम नयाँ लाग्यो
यो हजारौँ वर्ष पुरानो काँचुली फ्याँकेर
नौलो रहर भुल्भुल उम्रेर आयो
यसभन्दा अघि,
जिउनुलाई मैले इमान्दारीसित कार्यालयमा पुगी
पाँच बजीसम्म आफ्नो ड्युटी गर्नु ठानेको थिएँ
अरूको लागि बाँचिदिनुपर्छ भन्ने
नैतिकताको सर्ट-प्यान्ट पहिरेर हिँडिराखेको थिएँ
त्यै चेतको हातले डोहोर्याइएर
विरोधको जुलुसमा पनि बारम्बार बगिरहेको थिएँ
तर तिम्रो मुस्कानले छोएपछि
आज यौटा उच्च एक्सटेसीमा उक्लेर
यस्तो बोधी प्राप्त भएको छ
कि जीवनको रहस्य मेरो आँखाअघि खुलेको छ –