आवाज / विमला तुम्खेवा
कविता सडकमा
रगताम्य भएर उभिएको बेला
मलाई जिन्दगीको गीत गाउन मन लागेको छ
अझ यस बखत
म
संवेदनाको बत्ती बालेर
चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।
मलाई भन्न मन लागेको छ
जीवन-
विरक्त अनुभूतिमात्र होइन
म चेतनाको निम्ति
म निर्माणको निम्ति
यस बखत ध्यानमग्न छु
कहाँबाट आयो
यो अत्यासलाग्दो बुटका पदचापहरू
कहाँबाट आयो यो अत्यासलाग्दो मान्छेका आवाजहरू
मान्छे,
तिमै्र बस्तीमा मात्र किन गाइन्छ मृत्युको गीत -
च्यातिएका बिम्बहरू
नमिलेका सपनाका प्रतिच्छायाँहरू
चट्टानजस्तै सपना खसेर
जब आक्रान्त बनाउँछन् मस्तिष्कहरूलाई
म चेतनाको बत्ती बालेर पर्खिरहन्छु तिमी आउने साँगुरा गल्लीहरू ।
भत्किएर गइसकेछन्
मेरो विश्वासका आदिम संरचनाहरू
मेरो लक्ष्यको आकाश
तर पनि,
विश्वासहरु संगाल्दै विचारहरु अँगाल्दै
म पुनः संरचनाका निम्ति
म पुनः निर्माणका निम्ति
पर्खिरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।