दुवै निद्रा आइपर्दा / सुमन पोखरेल
मलाई दुईवटा निद्रा लागेको छ
एउटा जिन्दगीको
एउटा आफ्नो।
दिन रात भएको छ
रात दिन भएको छ
यस्तो दिनरात भएको छ
रातदिन भएको छ।
अनि म लाटोकोसेरो भएको छु ।
म लाटोकोसेरो भएको छु, तर उल्लु हैन।
यहीँनिर भेद पाएको छु मैले
लाटोकोसेरो र उल्लुमा।
लाटोकोसेरो म हो
उल्लु म हैन ।
मैले चमेरो पनि हुनुपर्छ
तर म चमेरो हैन।
यो हुनु र नहुनुको बीचमा एउटा ढोका छ ।
ढोका बन्द भयो भने
भित्रको भित्र बाहिरको बाहिर हुन्छ।
भित्र र बाहिरको खेलमा
म ढोका हुँ ।
मैले बन्द हुनु पनि पर्छ
मैले उघ्रिनु पनि पर्छ
यहाँ मान्छेले अब मान्छे हुनु हुँदैन
मान्छे नमान्छे हुन सक्दिनँ
अनि मैले लाटोकोसेरो हुनुपर्छ।
तर म उल्लु हैन ।
गधा र भारी दुवै हिँडछ साथै-साथ
म गधा हुँ
म भारी हुँ ।
यहाँ मान्छे मान्छे हुन पाउँदैन
त्यसैले म
भारी हुन्छु
ढाकर हुन्छु
खर्पन हुन्छु
तोक्मा हुन्छु
जाँड हुन्छु
जाँडको बटुको हुन्छु
छोक्रा हुन्छु ।
जान्नेले जाँड हुनुपर्छ
नजान्नेले छोक्रा ।
म जाँड पनि हुन्छु
छोक्रा पनि हुन्छु ।
यो हुने र नहुने क्रममा
जे भए पनि हुन्छ
जे गरे पनि हुन्छ ।
ढोका उघारे हुन्छ
ढोका खोले हुन्छ
ढोका चलाउँदै नचलाए हुन्छ ।
दिनभरिका अनुहार बटुलेर
उपन्यास लेखे हुन्छ
कविता लेखे हुन्छ
केही नलेखे पनि हुन्छ।
ब्यूँझे पनि हुन्छ
निदाए पनि हुन्छ ।
यस्तै बेलामा दुईटा निद्रा लागेको छ।
यो निद्रा ब्यूँझे पनि हुन्छ
यो निद्रा निदाए पनि हुन्छ
एउटा निद्रा निदाएर एउटा ब्यूँझे पनि हुन्छ ।
सपना देखे पनि हुन्छ ।
मान्छेले मान्छे बन्नुबाहेक जे गरे पनि हुन्छ
घाइते खुट्टाले हिंडे पनि हुन्छ
सद्दे खुट्टामा वैसाखी लगाए पनि हुन्छ
खुट्टालाई काँधमा राखेर दौडिए पनि हुन्छ ।
म बैसाखी हुँ
म काँध हुँ
म लाटोकोसेरो हुँ
म उल्लु हैन
मान्छेले उल्लु हुनुपर्छ यहाँ ।
मान्छेले दुईटा निद्रा बोक्नु पर्छ
एउटा निदाउनु पर्छ
एउटा ब्यूँझनु पर्छ ।