Last modified on 16 मार्च 2017, at 08:11

शिविरबाट फर्केपछि / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:11, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

एउटा टुक्रा बगर – आँखामा नाचिरहन्छ
त्यो मसँगै टाँसिएर आएछ
उदास झुप्राहरू झझल्कोमा छन्
त्यो मसँगै गाँसिएर आएछ,

तीरै–तीर बग्न छोडेर
कतिखेर परेलीमा उक्लेर बग्न थाल्छ कन्काई
मध्यरातमा,

थाहै हुँदैन कतिखेर
मनको घाइते परेवा भुर्र उड्छ
वेग हान्दै काट्छ सिमानाहरू,
सुम्सुम्याउँछ गोठहरू,
चर्केका घरका भित्ताहरू र तुलसीका मठहरू,
 शिविरका प्वाल–प्वालबाट
चियाएर पर्खन्छन् आँखाहरू मुस्कुराउँदै हिँडेको
हुलाकी दिनलाई,
विधवाको सिउँदोजस्तो
अनन्तसम्म फैलेको बाटोमा सुनिन्नन्
कुनै पदचापहरू,
र पातका थाल समाएर नानीहरू
ओकल्छन् रुवाइका उदास धुनहरू,

चट्याङ पर्छ – झुप्राहरूमा पर्छ
झरी बर्सन्छ – झुप्राहरूमा बर्सन्छ,
तातो तावा बनेको छ भुइँ
ढुंगाको सिरानी लाउँदा–लाउँदै
ढुंगा बनेका छन् झुप्राका मान्छेहरू  !

शिविर सधैं
आँखामा नाचिरहन्छ अचेल,
सुकेको बन्सोजस्तो बनाउँछ मेरो मन
अनि प्रश्नै–प्रश्नको
डढेलो सल्काइदिएर उत्तर माग्छ मसँग

गुलाफका थुंगाजस्ता
नानीहरूका कोमल पाइताला नअट्ने
के यत्ति साँघुरो छ संसार ?