स्वप्नकथा / रमेश क्षितिज
हामी उक्लिरहेछौं
त्यही प्राचिन ठाडो उकाली
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,
यहीँ आत्महत्या गरेथ्यो एक साँझ
कुनै विद्रोही युवाकविले !
उसले सिरानी हालेको दर्शनको किताब,
औला देखिने एकजोर पुराना जुत्ता,
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
र मसी सुकेको ऐतिहासिक कलम
छन् – अझै बाँकी छन्,
दुःखीहरूको नफर्किने दिनलाई
हामीले व्यर्थै एक दिन त फर्किन्छ भनेका थियौं कि ?
कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
दुर्घटनामा मारिएको राजनेताको आधा लेखिएको डायरी
आफ्नो लास बोकेर बेपत्ता हुने सोनामहरू
र विक्षिप्त सतीहरूको कोलाहलपूर्ण मौनता
छन् – अझै बाँकी छन्,
सपना पिएर धङधङिने
गँजडी बानी बसेको हो कि ?
हामीले चिनेनाै समयलाई ?
उत्सवहरूको कालो भित्ता
सहिदकी आमाका टोलाइरहेका शुन्य आँखा,
भोकको ज्वाला, शोकको आघात
व्यक्तिस्वार्थको सुनौलो पिँजडामा बन्दी मन,
सधैं उदाउने सामन्त सूर्य
र कहिल्यै नसुक्ने गहको आँसु
छन् – अझै बाँकी छन्,
कुनै वृत्तको केन्द्रजस्तो
धेरै पर पुग्यौं भनेको – त्यहीँ हुँदारहेछौं
आफू चढ्न जानेनौ शिखरहरू
कि अपदस्थ गर्दैछौं उचाइहरू ?
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
हाम्रा गौरवका धारहरू ?
नहुन् यी भनेर कामना गरेका धेरै कुरा
छन् – अझै बाँकी छन्,
पुर्खाहरूबाट सुनेको उही कथा
कसरी सधैं दोहोर्याउने सन्तानहरूलाई ?
केही फरक होस् भनेर
प्रतिक्षारत टक्क अडिएका छन् हाम्रा दृष्टिहरू
त्यही प्रसुतिगृहअगाडि
कुनै अप्रतिम युगपुरुष छोरालाई बोकेर
बाहिर निस्कँदै गरेकी आमालाई हेर्न भनेर ।