भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिल्भियासँग एक साँझ / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:24, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

समय घोडाका टापहरू
टक्टक् दौड्दैछन् द्रुत गतिमा,

ठमेलको यो व्यस्त साँझमा
गल्लीहरू छिचोलेर हामी भेट भएका छौं
फेरि सायद भेट हुँदैन भन्नलाई !

र आफैंसँग तर्किहिँड्न स्वप्नहरूलाई प्रेम गर्न
विवश छौं हामी
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,

टेबुलपिच्छे फरक छन् अन्तर्कथाहरू,
मध्याह्नका घटनाहरूलाई जबर्जस्ती बिर्सेर
व्यस्तता उग्राइरहेछ आ–आफ्नै धुनको झाडीमा
नेपथ्यमा बजिरहेछ सुरसुधाको मधुरो आर्केस्ट्रा
र मातेर टोलाइरहेका आँखामा
तरल–तरल बगिरहेको छ बिदाइ
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,

केही विषादहरू छन् आधी गिलासमा
र उडिरहेको धुवाँमा रङ्मङ्गिरहेको छ बाँकी खुसी

प्लेटमा चलाइरहेको काँटाले
पटक–पटक आफ्नै मुटुमा घोचेर
हामी पिउँदैछौं
अत्यासलाग्दो समयमा अन्तिम मातहरू
अनि हेर्दैछौं
मुर्कट्टा प्रश्नका भयानक आवेगहरू
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,

सर्वव्यापी शाश्वत भाषा छ मान्छेको !
अनुहारमा पोतिएको सघन उदासी,
मुस्कान र आँसु,
पीडा र अनुभूतिका खुट्टाहरू
भाषाबिनाका भाषा भएर ओहोरदोहोर गर्छन्
मनमनका कोरिडरहरू
संवादहीन भएर हामी अल्झिरहन्छौं संवादहरूमा,

किन मेट्न सकिन्न सिमाना र साँधहरू ?
 किन बटुलेर संसारका जम्मै झन्डाहरू
रंगीचंगी कपडा बनाउन सकिन्न
नांगा मान्छेका लागि ?

मान्छे हुनुको परिचय नै किन पर्याप्त बन्दैन
मान्छेको आफन्त हुनुका लागि ?
सिल्भिया  ! आजको साँझ जिन्दगीको कुरा गरौं,

पञ्चकन्याका मुस्कानमा
तिमीले भेट्यौ हिमालहरूको विम्ब,
तिम्रा निला आँखाहरूमा हेरेँ मैले
अथाह समुद्र,
एउटै पृथ्वीमा बसेर पनि
किन यति टाढा भइरहन्छौं हामी  ?

मुखुन्डाहरू – लाँखेका
तस्बिरहरू – कुमारीका
पोखरीका गहहरू र बुद्धको तेलचित्र

यी सबै अपूर्ण हुनेछन्
सग्लो मान्छेको अर्थपूर्ण उपस्थितिबिना
सिल्भिया  ! आजको साँझ जिन्दगीको कुरा गरौं ।