अचेल ऊ / मनप्रसाद सुब्बा
ईश्वरलाई उसले
आफ्नो आस्थाबाट निकालिदिएपछि
त्यहाँ यौटा ठूलो भ्वाङ पर्यो
अनि
उसले अनास्थाका विचारहरू थाक थुपारेर
त्यो भ्वाङ पुर्नखोज्यो
तर भ्वाङको आयतन झन् झन् बढ्दै गयो.. बढ्दै गयो..
यो बढ्दो भ्वाङ देखेर
उसले मनमनै भन्यो —
ईश्वरको अनुपस्थिति भनेको
यस्तो कल्पिनसक्नु भ्वाङ रहेछ !
अनि उसले यो असीमित भ्वाङलाई
आफ्नो असीमित स्वतन्त्रता ठान्यो
तर सम्हालिनसक्ने यत्रो ठूलो स्वतन्त्रता पाएर
उसले आफ्नो सुझबुझ हरायो ।
‘यति विराट स्वतन्त्रता लिएर के गरूँ ?’- सोध्यो आफैलाई ।
कति कति वर्षसम्म
उ यै प्रश्नको पेन्डुलमसित हल्लिरह्यो.. हल्लिरह्यो..
तर आज हठात् देख्यो –
उसको यो ठूलो स्वतन्त्रता त टुक्रा टुक्रा फुटेर
‘स्व’ यौटा शपिङ मलको शो-केसमा बन्द ।
‘तन्’ डान्सबारमा ।
‘त्र’ मगन्ते बालकको फाटेको हापेनको चाक ।
‘ता’ चैं बाँच्नैलाई जतै पनि टाँस्सिने प्यारासाइट ।
अचेल उ
यस्तो बिजोग हालतमा छ
कि उसित न ईश्वर छ
न त उसको स्वतन्त्रता नै ।