भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पानीको मुक्ति / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:43, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


पानी त म पानी नै थिएँ पहिले पनि
तर रितिरिवाजको कलशमा बन्द
कि त फिल्टरको खटनमा तपतप चुहिनुपर्ने

अनि तिमी आयौ
र ती बन्धनका आयतन र आकारबाट मलाई मुक्त गर्यौ
अनि म खोल्सा खुलुलुलु स्वतन्त्र बग्न थालें
म छाँगो चिउँव बन्जीजम्प गर्दै रमाएँ
बनावटी आकृतिहरुबाट उम्केर म
अब आफूखुशी
अनगिन्ती रुपहरुमा प्रकट हुन्छु हराउँछु फेरि देखिन्छु

मैले त वर्षौंदेखि
आफ्नै आवाज पनि सुन्न नपाएर बिर्सेको थिएछु
अब मुक्ति बग्न पाएर म आफ्नै सङ्गीतले मक्ख छु
बन्धनबाट फुस्केको मेरो लय
यति लचकदार रहेछ
अङ्ग अङ्गको मेरो लचक
यति लयपूर्ण रहेछ, ऐले थाह पाउँदैछु

अचेल म आफै
व्हाइट-वाटर र्याफ्टिङ खेल्दै खोला बग्छु खोला


अघि पाइपको अँध्यारो सुरुङभित्र
वर्षौंको बँधुवा मजदूर म
ऐले यौटा यात्रा बगिरहेछु
आफैलाई भेटेर अघि बढिरहने यात्रा ..

समुद्रमा पुगेर पनि म
छालहरूको सर्फिङबोर्डमा उभी सर्फिङ खेलिरहन्छु
अनि आफ्नै फैलावटबाट पनि उम्केर
म कृष्ण बादल उठ्छु
र पानी पर्छु
पानी पर्छु