माफ गर मेरो मौनतालाई / मनप्रसाद सुब्बा
माफ गर, प्रिये, मेरो मौनतालाई
कि मेरो स्वरमा त्यो सङ्गीत नै कहाँ
जसले मेरो अन्तरको सूक्ष्म झङ्कार
दुरूस्तै निकाल्न सकोस्!
तिमी साथ छँदा
भित्र कतानेर उठ्ने ध्वनितरङ्ग
मेरो स्वरले समात्नै सकेन।
सुस्केराले सुकिरहेको
मेरो यो सारङ्गी छुएर
तिमी सङ्गीत यस्तो ब्युँझाउँछ्यौ
कि बगिरहन्छु म पानी पग्लेर मौनताको नदीमा ...
तर एकदमै असमर्थ छु म उल्था गर्न
त्यो सङ्गीतको स्पर्शलाई
मेरो स्वरमा !
माफ गर
कि सँधै कोलाहलको निस्सासिँदो भीडबाट
पसिनासरि भई चेप्टिदै निस्किनु विवश यो मेरो शब्दमा
त्यो सूक्ष्मता नै कहाँ
जसले
तिम्रो दुइ-चार पलको स्पर्शतरङ्गलाई
दुरूस्त देखाउन सकोस्।
बस् यत्ति भन्न सक्छु
कि मेरो शब्दको ऐनामा
आफूलाई हेर्ने मन भए
मेरो ओँठको मौन क्षितिज हेर्नू।
कत्ति सीमित छु म
कि तिमीलाई अनुवाद गर्नै सकिनँ
कवितामा!
त्यो स्पर्श
अनादिदेखिन् अननूदित
हरदम नौलो शाश्वत सुर
प्रस्फुटित तर अनुच्चरित।
माफ गर
कि पिल्सिसकेका शब्दहरूमा
तिम्रो कविता अनुवाद गर्नै सकिनँ।
त्यसैले
असमन्जस फुलेको मौन मुस्कानबाहेक
भन्नलाई मसित अरू क्यै छैन !