Last modified on 5 मई 2017, at 12:33

अभिशप्त मान्छे / कृष्णभक्त श्रेष्ठ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:33, 5 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्णभक्त श्रेष्ठ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

समय नहुँदै जसले आँखा उघार्छ
उसले धेरै कुरा देख्छ
देख्न हुने पनि देख्छ
देख्न नहुने पनि देख्छ
यसरी एक पल्ट आँखा उघारेपछि
सक्दैन फेरि चिम्लन उसले
देखेको नदेख्यै गर्न पनि सक्दैन

देख्नैपर्ने बाध्यता
एउटा पाप हो
प्रायश्चित्त त गर्नैपर्छ—
अझ बढी देखेर

यो त आफैमा एउटा सराप पनि हो
जति बढी देख्यो
त्यसभन्दा बढी देख्दै जानुपर्ने—
सर्वाङ्ग नाङ्गै नहुन्जेल
यो एउटा दण्ड पनि हो
सिसिफसले जस्तै बोक्न विवश
बिसाउनै नपाउने
बाँचुन्जेलको एउटा बोझ

त्यसैले उघार्न हुने आँखा
र उघारेपछि
देख्नैपर्ने पीडाबाट आक्रान्त छ
आतङ्कित छ
अभिशप्त छ मान्छे।