भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
ईश्वरवन्दना / शशि भण्डारी
Kavita Kosh से
					Sirjanbindu  (चर्चा | योगदान) द्वारा परिवर्तित 10:45, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=शशि भण्डारी |अनुवादक= |संग्रह=	 }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)
पूजा–सामग्री र शङ्खध्वनिबीच 
आरती म गरिरहेछु
केही नबोल्ने, केही नसुन्ने
त्यही बहिरो पत्थरको विशेषतालाई अझै 
म ईश्वर बनाइरहेछु।
सहमति सबैको हो 
भाकल गर्दै मन बहलाउने 
प्रार्थना पनि सबैको हो 
पूजाकोठामा सजिएको 
तिमीलाई नै सदैव
पूज्य बनाइरहने।
वन्दनाभित्रको तिम्रो मोहसँग 
केही नबोले पनि, केही नसुने पनि 
बाहिरै भए पनि
एक श्रद्धा जोडिरहेछु 
तिमीलाई सदा–सर्वदाका लागि 
ईश्वरै बनाइरहेछु
तिम्रो कल्पित रूप कुँदिएको पत्थरलाई 
फेरि–फेरि भगवान् बनाइरहेछु 
तिम्रै पूजा गरिरहेछु।
 
	
	

