कलाकार चन्द्रको सपना / श्रवण मुकारुङ
पृथ्वीनारायण शाहको सैनिक भएर
युद्ध लडेका जाबर शेख
र उसको सन्तान-
रियाद शेखको अग्लो तर पुरानो घर
र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा
प्रथम किराती राजा यलम्बरको एक थोपा खुन
कलाकार चन्द्र रानाहँछा
जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट
आईएनजीको साइनबोर्ड
वाईसिएल, युथफोर्स र तरुण दलको ब्यानर
जातीय संस्थाका लोगो
मेनपावरको विज्ञापन
र योगगुरुको कामुक वाणी लेख्दै
यो बागबजारमा-
जीवनको भित्ता रङ्गाइरहेछ।
उसलाई-
लैनसिं बाङ्देल
दुर्गा बराल
मनुजबाबु मिश्र
वा, किरण मानन्धर
कोही हुनु छैन।
हुनु छ केवल- रङहरूको शासक
र आकारको श्रमिक।
त्यसैले,
झुण्ड्याएको छ उसले आफ्नो पसलमा
(जो सजिलै बिक्री हुनेछ)
निरीह हिमालहरू
दुब्ला नदीनाला र जङ्गलहरू
बीपी कोइराला
पुष्पलाल
बाबुराम भट्टराई
र रिबन बेरिएको अतिथिको व्याज।
चार फिट एघार इन्चको उचाइ
सप्रिएको भोगटेजस्तो टाउको
कवि मोहन कोइरालाको
फर्सीको जराजस्तै जेलिएको उसको विचार
तर, स्वयम्भू झै सुन्दर-
मेरो भाइ- चन्द्र रानाहँछा
लाहुरे हुन हाइटले दिएन
सैनिक हुन नाकले दिएन
जनसेना हुन खै केले दिएन!
मजस्तै कवि हुन शायद मैले दिइनँ।
त्यसैले ऊ भएको छ- कलाकार
जसले-
सबभन्दा धेरै चलाएको रङ हो- रातो
सबभन्दा धेरै खेलाएको विषय हो- दुःख
सबभन्दा भव्य बनाएको चित्र हो- नयाँ नेपालको
जसलाई ऊ चाहन्छ तुरुन्त बेच्न
किनभने-
उसलाई बन्नु छैन महान कलाकार
मात्रै छोड्नु छ- छिटो
जाबर शेखको सन्तानको यो पुरानो घर
र अँध्यारो छिँडी
र कोर्नु छ उसले-
उपत्यकाको कुनै कुनामा सपनाको नक्सा।