भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रानीवनमा / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:53, 19 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

क.
यिन गिरिमा, हो
सभ्यताका नीला, गाढा, प्रकृत गढमा,
फरफर पताका, शाखा !
बल्लीहरुको दरबाजामा,
फूल छन् पहरा लाखाँ !

ख.
शीतलताको दरवार बनाई
वन–रानी,
वायु–पङ्खी अख–परीसँग,
सुन्छिन्,
सुन्दर बादल–कहानी !

ग.
वृन्दावनका मुरली सम्झी
दल नाच्छन् !
महेश खोलो, पाषाण तरङ्गी
ओर्लिरहन्छ, ओर्लिरहन्छ,
त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ,
भेट्न सधैंभर, नअघाई,
उर्लिरहन्छ, उर्लिरहन्छ !
अगणित भेट र अविरल ध्वनिहरु,
प्यारका जोडी, युगयुग, तटमा,
साँच्छन् !

घ.
पर छन् ईँट, पर छन् चून !
बोधा, अन्धा !
रानीवन छन् अविकृत युगकी
मिरमिर कहानी सानी–
जसकी दिदी हुन् वृन्दा !

ङ.
होला कोही मिरमिर कहानी–
कसरी कुनै दिन क्वै नानी,
यस वनकी फूल, उटज फुलेकी,
भइन् जगतेकी रानी !

च.

यिनका दिल छन् ढुक्कुर, ढुक्कुर !
यिनका बोली, जुरेली !
भरखर बोली एक हाँगामा
एउटी प्यार–सुरीली !

छ.
यस खोलाका लहराभित्र
लाग्छन् चिचिल्ला मन–रसका !
प्रकृतिरानीको राज्य पवित्र !
शहर–उपल्ला यी स्तरमा छन्
चोखा कुसुमहरु दिल–खुशका !
झुठा हाम्रा व्यापारहरुकन
छन् झल्का !

ज.
ए खोला ! दे करले लेखी
सुन्दर एक शिलापत्र !
एक बटुवाको नागरिकताको
इच्छा एक विचित्र