देवता / विष्णु न्यौपाने
हामी मानिस हौं साना, ठूला हुन् किन देवता ?
ठूला  मानिस नै हुन् ती, मानेका मात्र देवता 
मानिसनै  थिए बुद्ध, देवता   बनिए   किन ?
ज्ञानी राजा  बनी पाए, श्रेय उच्च  जनार्दन 
आइन्स्टाइन हुन् द्यौता, लामा दलाइचैं  किन ?
राष्ट्रपति अमेरीकी, गान्धी  द्यौता बने किन ?
साइबाबा,  यशू , ओशो, कन्फुसियस  मानवै 
पूज्य छन् यी महाशक्ति  बुद्धि  अब्बलका सबै 
शक्ति  हो  बनिने द्यौता, गुण  हो  र परिश्रम 
धन हो ध्येय हो हाँक्ने, भ्रमका आसका  जन 
कला हो यो चमत्कारी, अफीम झैं  नशाधिक
स्वीकृति मानिसैको हो, दासत्व पूर्ण  आस्तिक 
रामदेव कहाँ  जोगी,  ज्यूँदै  द्यौता  बनीसके
औतारी  भनिने  राजा, हिजै  मात्र  ढलीसके
भ्रम हो देवको शक्ति, भक्ति हो शक्ति पीठको
थिए शिव कहाँ द्यौता ? वीर साधक योगको
विष्णु थिए धनी राजा, स्वर्ग झैं सान राष्ट्रको
चाकडीमै टिके  इन्द्र, विष्णु वा शिव पात्रको
कल्पना जसले पायो, जन्मायो शास्त्र रूपमा
तिनैहुन् सारमा द्यौता, छैैन क्यै शक्ति धूपमा
सच्चा डाक्टर हुन् द्यौता, मृत्युलाई भगाउने
हुन् वैज्ञानिक ती द्यौता, नव सिर्जन ल्याउने
बुद्धिले नै  बने द्यौता,  देवकोटा  कवि  रवि
पूज्य छन् भावना भित्र, चम्किला सूर्यका छवि
खर्चेर  धन जन्मन्न, द्यौता  मन्दिरमा  कुनै
मूर्ति प्रतीक हो मात्रै, कलाकृत्य  शिला कुनै
कल्पना भित्रका वेद,पुराण काव्य मात्र हुन्
रचना भित्रका पात्र, देवता नाम मात्र  हुन्
 
	
	

