भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेरि गाउँका कुरा / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:36, 1 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= शोक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


फेरि गाउँका कुरा गर्न मन लाग्यो।
 
खरको धुरी छिचोल्दै निस्केको धुँवाको बादल
ध्वाँसोको रोगनले कालाम्मे दलिन
आत्मीयताले लछ्रप्प भिजेको मझेरी
बारीको डिलमा झोक्राइरहेका दबदबे र गायोका रुख
काभ्रो, बडहर र सिन्दुरेका हाँगाभरि गीत गाउने
ढुकुर, बाँसकटेरा र रुपीका बथान
कान्लामा एकान्तको उदासी फुलिरहेको चुवा
हलुका हावामा पनि भुइँ ढोगौँलाजस्तै नतमस्तक बाँसघारी
युगौँदेखि जीवनको नाममा―
आफैलाई पोखिरहने चौतारोछेउको ढुङ्गेधारा
हरेक अभ्यागतलाई शीतल हम्किरहने
लहरे वर र पीपलका कुरा गर्न मन लाग्यो
कवितामा एक पटक फेरि गाउँका कुरा गर्न मन लाग्यो।
 
माथि पाखामा राताम्मे उत्साह फुलेको धँगेरो
सतिबयरका झ्याङबाट जिस्क्याउँने कोइली
सल्लाका पातमा चिप्लँदै बगेको नोस्टाल्जिक जिन्दगी
भन्ज्याङमा खरको भारी बिसाएसँगै
दृष्टिको परिसरभरि ओच्छिने कञ्चन हिमाल
धुकधुकीभरि राता गुराँस फुलाएर
युगौँदेखि मस्त निदाएका पाखापखेरा
(थाहा छैन ब्युँझन्छन्/ब्युँझन्नन् कहिल्यै अज्ञानको आदिम निद्राबाट)
एउटाबाट अर्को रुखमा फाल हाल्ने राता―सेता बाँदरका झुन्ड
नबुझिने भाका चिर्बिराउने अपरिचित चराको जमात
माथि डाँडाबाट देखिने खेतका फाँटहरू/बारीका पाटाहरू
त्यतैबाट उकालो ओरालो लाग्ने जिन्दगीका बाटाहरू
ढुङ्गा र खरले छाएका घरहरूको एउटा कोलाज
र साँच्चैका मान्छेका कुरा गर्न मन लाग्यो
कवितामा एक पटक फेरि गाउँका कुरा गर्न मन लाग्यो।
 
पोल्टामा मकैभट्मास र मुलाको साग बोकेर
घाँसदाउरा गर्ने साथीसँगी
मादलको तालमा छमछम नाचेका
कल्पनातीत आनन्दी क्षणको कुरा गर्न मन लाग्यो
आत्मीयताले स्वादिष्ट बनेको ढिडो र रोटी
मेलापातको सहयात्रा
र स्मृतिभरि तँडाडमछाड गरिरहेका
थुप्रैथुप्रै गाउँबेसीका सन्दर्भहरूको कुरा गर्न मन लाग्यो।
 
र कवितामा फेरि एकपल्ट आज
गाउँका कुरा गर्न मन लाग्यो।