कहीँ नपुग्ने एउटा यात्रा / निमेष निखिल
समय―सञ्चालित रोबोटहरूको एउटा हुल
घेरा हाल्दै छ मान्छेलाई
र भागिरहेछ मान्छे कुनै असफल प्रयासमा
मृत्युको अवश्यम्भावी घेरा तोड्न
सँगै, निर्बाध घुमिरहेछन् मृत्युका दूतहरू
आतङ्कको बुर्की छर्दै मान्छेका गाउँसहरमा।
लामा लामा पीडक सुसाइड नोटहरू छोडेर
मन्दिर मन्दिरमा आत्महत्या गरिहेछन् ईश्वरहरू
उठ्न सकेकै छैनन् तेत्तिस कोटी लासहरू
तिन कोटि भक्तहरूबाट
एउटा भयङ्कर प्रलयको प्रतीक्षामा
मान्छे मनाउँदै छन् सायद एउटा अन्तिम महोत्सव।
कता जान्छौ दाइ?
मृत्युको भल त्यता पनि पसेको छ भर्खरै
एउटा महाताण्डवको लालसा बोकेर।
फूलबारीहरू ब्ल्याकहोलमा अनुवाद भएका छन्
देखिँदैनन् कतै घाम, जून र कुनै सुपरनोवा
अन्धकारको एकच्छत्र साम्राज्यभित्र
हुर्हुर जलिरहेछन् कानुनका दफा―उपदफा
ज्वालामुखीको लाभामा पौडिरहेछन्
शान्ति सुरक्षाका फोस्सिल
आतङ्कको विराट् सिम्फोनीमा
नृत्यमग्न छन्― टाउकोबिनाका शरीर
सयमको विशाल पर्दामा चलिरहेछ एउटा हरर फिल्म
र अँठ्याइरहेछन् छाँटछाँटका रोबोट
मान्छेका कमजोर घाँटी।
यस्तै सपनाजस्तो एउटा यथार्थ
अथवा यथार्थजस्तो एउटा भयानक सपनालाई काँध हालेर
आज पनि मान्छे हिँडिरहेछ एउटा यात्रा―
कहीँ नपुग्नलाई
कहीँ कहीँ कहीँ नपुग्नलाई।