भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बज्यै : एउटा ज्युँदो इतिहास / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:41, 4 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= मनह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



आँगनभरि आशाहरूको बिस्कुन हालेर बज्यै
अनुहारका चाउरीहरू गन्दै छिन्
अस्मेल भावनाका भेलहरूमा पौडनुको नियति
परिक्लान्त छ शरीर
अगणित सपनाहरूको उतारचढावमा
धमिलिएका छन् आँखा
समय पुतलीको पछिपछि दौडने मन
आज ओकलिरहेछ आक्रोश पुतलीहरूकै विरुद्धमा
लाग्छ बज्यै यथार्य
मन भत्केर असरल्ल आश बाँच्नुको निर्धो नियति हो।
 
सौन्दर्य सुसेली हाल्न बिर्सेर बज्यै मन
स्वर्गीय पतिका धमिला स्मृतिपत्रहरू जोडिरहन्छ
मात्र केही स्वप्नील रातहरू
केवल केही मायालु बातहरू
बदलामा खातमाथि खात लगाएर
इतिवृत्तका घातप्रतिघातहरू
हरेक मायालु सम्बोधनका विभ्रमहरूमा
सहिरहन्छिन् समयले हानेका बज्रलातहरू।
 
मृत्युप्रतीक्षाको समय काखी च्यापेर
बज्यै अझै जोडिरहेकी छिन्
एउटा ज्युँदो इतिहासका घटनाचक्रहरू
र खोजिरहेकी छिन्
आफ्नै इतिहासका कुशल पाठकहरू आज पनि।