भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो युगका कथाहरू / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:44, 4 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= मनह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म जोडिरहेछु
विस्थापनका कथाहरूको एउटा अनन्त शृङ्खला
उपसंहारअगावै निदाइसकेका छन् असङ्ख्य नानीहरू
एउटा कहिल्यै नब्युँझने निद्रा।
 
कथाहरू :
विश्वस्त मनबाट विश्वास भत्किनुका कथाहरू
श्रद्धालु नजरबाट श्रद्धा खस्किनुका कथाहरू
उत्ताउला दिन खडेरीका कथाहरू
ऋणमाथि ऋण र लिलाम घडेरीका कथाहरू।
 
कथाहरू :
अक्करे भिरहरूमा गुराँस नफुल्नुका कथाहरू
मलिला तीरहरूमा बाला नझुल्नुका कथाहरू
धारिला खुकुरी गला कट्नुका कथाहरू
बोधिवृक्षमुनि त्रिपिटक रट्नुका कथाहरू।
कथाहरू :
एकादेशबाट सुरु नभएका कथाहरू
बलिष्ठ पाखुराहरू जङ्गलतिर गएका कथाहरू
मान्छे मन/विस्फोट विभीषिकामा सन्त्रस्त कथाहरू
ओइलाएका बैँस/यौवन क्षयग्रस्त कथाहरू।
 
कथाहरू :
सर्वत्र भोक र जिजीविषा कथाहरू
प्रतिपद पराजय र विजिगीषा कथाहरू
ललाटमा कस्तुरी, तिलक र चन्दन कथाहरू
चिसा छिँडीमा अभाव, आश र क्रन्दन कथाहरू।
 
म जोडिरहेछु
विस्थापनका कथाहरूको एउटा अनन्त शृङ्खला
उपसंहारअगावै निदाइसकेका छन् असङ्ख्य नानीहरू
एउटा कहिल्यै नब्युँझने निद्रा।