भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दाजै ! कविता त गाउँमै छ / भूपाल राई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:39, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपाल राई |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


एक हूल तन्नेरीहरु ढोल बनाएर फर्केपछि
गाउँभरि गुन्यूँचोलोको गीत गुञ्जिरह्यो
पोहोर यसैबेला सिलाएको कमिजको गोजीभित्र
धीत नमरेका गीत पट्याइराखेर
एकाबिहान
रित्ता घैलाहरु उँधो झरिरहेको बेला
आउँदाआउँदै
बिरालाले बाटो काटिरहेको बेला
एक झोला कविता बोकेर
सहर झर्दैछु
मलाई नपछ्याउनू दाजै !
कविता गाउँमै छ
कुनै अज्ञात कुण्डको पीँधबाट हावाको सन्देश बोकेर
उत्तरगामी कर्याङकुरुङहरु फेरि फर्किए
यतिखेर हतारका पिङहरु झड्किरहेका होलान्
मनका मौजाहरुमा
एउटा चञ्चल गीत आफ्नो सप्तकको गरा भिजाउन
दौडिरहेको होला मुहान भाँच्दै डाँडैडाँडा
केराका सग्ला पातहरुमा मनका जम्मै द्विविधा
खिलिराखेको छु
मलाई नरिसाउनू दाजै !
कविता गाउँमै छ
पापी कुइनेटो, सयपत्रीको थुँगा गन्न पल्केको !
एकतमास उँधौली लागेका माइती–निकासलाई
पर्खिरहेकै छन् 'दिदीबहिनी डाँडा' कहावत भएर
विश्वासको आदिम घरभित्र एउटा आदिम घोचो
चिबेँका पुच्छरहरुमा अझैँ
बाँचिरहेको छ आख्यान भएर
ढुकुरको थैलीबाट कोदाको ब्याड सारेर
एकेक ठेली लोककथा मान्छेभित्र ज्यूँदैछ
किंवदन्तीको एकेक सूतमा बाँधिएको
त्यो भव्य विरासत र
छोरीको वियोगमा विक्षिप्त
थुविक्मा चरीको दुःखान्त गीत
जम्मैजम्मै त्यहीँ छाडेको छु
मलाई नसराप्नु दाजै !
कविता गाउँमै छ
त्यो बारीको बूढो सिमल जो अझैँ समय गनिरहेको होला
त्यसलाई नछुनू अथवा
त्यसमाथि बन्चरोको बुद्धि खियाएर
कुनै सङ्गीतहीन बिहान नबिताउनु
एउटा तिलस्मी घोडचढी आधा रातमा राँको बाल्दै
पूर्वतिर अल्पेको कथा बिर्सेर
कल्पनाको सुन्दर लोकमा खडेरी नपार्नू
हाट भरेर फर्किरहेको त्यो साँझको वीरे क्लिन्टनलाई
अनाहर जिस्क्याएर
ऊभित्रको जङ्गबहादुर नभत्काउनू
सखारै बर झारिरहेको कागलाई हाँगाबाट धपाएर
बच्चाहरुको संसारबाट
'कागदाइ' प्रतिको विश्वास नहटाउनू
कुनै कल्पित सुख भनेको
भौतिक साँचोको करामत हो कि हैन
त्यो विचार्दै
दुई मिनेट अडेर एकछिन सोच्ने वा
दुई कदम पछाडि फर्केर हेर्ने
आशयको रिट हाल्न
एक झोला कविता बोकेर
सहर झरेको छु
मलाई नपछ्याउनु दाजै !
कविता गाउँमै छ ।
दिदीबहिनी डाँडा — भोजपुरको दक्षिणपूर्वस्थित जोर डाँडा जसले अद्यावधि परदेश गएर नफर्किएका माइतीलाई पर्खिरहेको कहावत छ ।
चिबे — एक प्रकारको चरा जसको काप परेको पुच्छर हेरेर मानव–वंशको पुर्खाले पहिलो घरको घोचो बनाउन सिकेको किंवदन्ती प्रचलित छ ।
थुविक्मा — वर्षायाममा विरक्तलाग्दो स्वरमा कराउने चरा जो आफ्नी छोरीको मृत्युको वियोग खप्न नसकेर अद्यावधि छोरीको नाम 'थुवि' भन्दै गाइरहेकी छे भन्ने विश्वास छ ।