यो शहर / ज्योति जङ्गल
ऊ आफूलाई मन पराउदैन
र अरुलाई गाली गर्छ।
बाच्न जान्दैन
अरुको जिन्दगी देखेर
जब सल्किन्छ
अनि शहरको उज्यालो निर्माण हुन थाल्छ।
लाखौं ओतिन्छन् र सराप्छन् उसलाई
अग्ला रुखजस्ता घरहरुले दिएको ओत ओडेर
असन्तुष्टहरुले विगारेको
छ्याके अनुहार छोप्न
शहर धुलो भएर उड्न खोज्छ,
कहिल्यै लाम नटुट्ने गरी कुदेका
दिग्दार गाडीहरुमा विसाउँन खोज्छ।
सूर्य सुतेपछि उज्यालिएका रातहरु
गोमन झैं विष बोक्छन् र टोलटोल घुम्छन्
विदीर्ण दृष्य गोप्य राखेर पत्रिकाहरु
शानदार खुशीका खवर छाप्छन्।
आतका कलात्मक गहनाहरु
बद्लाका सुन्दर सुरहरु
र तृष्णाको नृत्य
प्रत्येक मान्छेमाथि अधिकार जमाउछ।
मलाई लाग्दैन,
तिमी गाउमा जति निर्मल कुरा यहा गर्न सक्छौ
न तिमीलाई
गाउको जति शहरको माया लाग्छ,
यो शहर त
आउने बस्ने र छोडीजानेको हो
सपना सजाएर उडीजानेको हो।