भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेम : त्यसको बहुआयामिक रूप / केदारमान व्यथित

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:52, 10 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कहिल्यै पनि
धमिरा नलाग्ने, जरामा पनि
प्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहने
कल्पद्रुम हो प्रेम ।
एक शब्द पनि नबोली मौनबाटै
नरनारीका मनमा
आफ्नो अस्तित्वको आभास उत्पन्न गर्न सक्नु
प्रेमको विशेषता हो ।

प्रेमलाई विश्व-जीवनदर्शनकै रूपमा
प्रतिष्ठा प्राप्त हुन सके
'संसार सत्मैन आधारित छ' लाई
बढी बल प्राप्त हुनेछ ।
प्रेम सङ्क्रामक हुन्छ
भनेमा अत्युक्ति हुनेछैन,
यसकारण कि त्यसको सङ्क्रमण-क्षमता
सार्वभौम सिद्ध भएको छ ।
प्रेमको वासस्थान
मुटु भएरै त
त्यसको स्वभाव
संवेदनशील भएको ।

सजिलैसँग
समस्त सृष्टि आफूभित्र
अटाउन सकेको दिन
स्वयम् पनि प्रेममै लय भइसकेको ठाने हुन्छ ।

पूर्णतामा प्राप्त भइसकेको प्रेम
सम्मुख पर्दा
धारिला शस्त्रास्त्रहरू पनि बिनापाइनकै
प्रमाणित भएका छन् ।
रूप सम्पन्न,
मन विपन्न छ भने
त्यस्तो व्यक्ति उपयुक्त हुँदैन
प्रेमका लागि ।
सारांशमा भन्ने हो भने
भएभरकै मनका फोहोरहरू
पखालिरहने
विरेचन पनि हो प्रेम ।

प्रेमले आरोहण गर्ने गरेको
अभिव्यक्ति-सोपानकै
सिँढी त हुन् नि
रस-माधुर्य-आलोक ।

प्रेम त्यस्तो गणित हो
जसको पहिचान भाजक-भाजित-भाज्यका
सहयोगबिना
आफै प्रस्तुत भइरहेको हुन्छ ।

प्रकृति-पुरुषका बीचको प्रेम-
संसर्गबाटै त
कालप्रवाह निर्माणमुख
हुने गरेको ।
प्रेमले आफ्नो उपस्थिति
जनाइरहेकै हुन्छ
स्वागत-मुस्कानबाट, हर्षाश्रुबाट,
मधुर आलापबाट, आलिङ्गनबाट ।

दिनसिबाय
लिन नजान्ने प्रकृति
भएरै त
प्रेम अधिक यशस्वी भएको ।

आकार त
प्रेमको पनि हुन्छ,
तर त्यसलाई
अनुभूतिकै आँखाबाट मात्र देख्न सकिन्छ ।
प्रेम त
प्राणीजगत्कै माध्यमबाट
कहिले उल्लासमा त
कहिले अवसादमा प्राप्त भइरहेकै हुन्छ ।
जति खर्च गरे पनि
न्यून भने कहिल्यै नहुने
मुटुकै
ऐश्वर्य हो प्रेम ।

रससम्पन्नता प्रेमको
स्वभाव भएरै त
मेघमालासदृश
पग्लिरहने गरेको त्यो ।
बलिदानपश्चात् पनि बाँचिरहन्छ
प्रेम त
सार्वजनीन मनमा, मस्तिष्कमा,
वाणीमा ।