मेरी आमा र नियुक्तिपत्र / सविता गौतम दाहाल
विस्फारित नयनवीच अंकीत
निधारको रातो सिम्रीक
सुस्तरी वतासले उडाइरहेछ
कानको मुन्द्रीले लोति छिन्न लागेको छ
वुलाकी वन्दकमा दिइएको छ ।
आक्रोस उम्लीएर
आफ्नै तातो निभाउन प्रयाशरत
उनको अनुहार
छरिएका केशराशि
अन्यायविरुद्घ धावा वोलिरहँदा
साक्षात दुर्गा देखिने मेरी आमा ।
पीडाको पहाड
जसैतसै उभिएको उनकै झुपडी
पहिरो खसाउँछ
कोशीपनि उनकै सानो धान खेत
मन पराऊँछ ।
किन यथार्थ आखाँको बाटो भएर
मुटुभित्र शत्रुझैं नांगो तरवार घोप्छ
अज्ञात मोडमा आफूलाई संयम राख्न
किन काँडामा हिडनु पर्छ ?
वेपत्ता बाबु !
सन्तति कसरी हुर्काउलिन ?
सबैका आँखा, उनले जन्माएका हामीलाई
दास देखिरहेछन्
उनीहरुको समृद्घिको
फुलवारी गोढने दास
भेडा चराउने वा आलूवारी खन्ने
आधुनिक दास ।
केवल सन्तति पीर !
ढलिन मेरी आमा
उठ्लिन नउठ्लिन
केही भन्न सक्दिन
केही सोच्नपनि सक्दिन ।
रक्तअल्पता भएर
आइरन चक्की खानु भनेथ्यो अस्पतालमा
म लम्किरहेछु ,
फलाम खानीतिर
खन्नेमानिसको नियुक्तिपत्र लिएर ।