पर्याप्त छ यो खुशी / सविता गौतम दाहाल
ए ! परदेशीएको छोरा
छ तिम्रो आफ्नै आकार अनि औजार
सात समुद्रपारि ।
यता आफ्नै मातृभूमि म सन्तुष्ट
स्काइपमा हुवहु देख्छु,
भाइवरमा कुरा गर्छु दोहोरो
वास्तविक भेटेर नवोलेको
साँचैको अगालोमा नवाधेको
एक दशक त भयो नि !
छ तिम्रो आफ्नै अस्तीत्व उही कतै
पर्याप्त छ यो खुशी ।
जाऊ निकै महंगो वाटो लाग्छ
वोलाऊ उही खर्चैखर्चको पुल
यता तिम्रा सामान याद वन्दै छन
हाऊभाऊहरु चलचित्रझैं लाग्छन ।
आउदा चाहिएला भनेर छोडेका लुगाफाटोको
फेशन गइसक्यो
जीवन आखिर साँचेर राख्नु
हो वा होइन,
दोधारमा छु ।
दशैं तिहार उतै मनाउँछौ, रमाउँछौ
संझना थुपार्नुको अर्थ वोकेर
कतिन्जेल तरुलाँ कोशी वा कर्णाली !
न त नाति नातिना आफ्न्त चिन्छन
न त आफ्नो भाषा वोल्न सक्छन्
भाषा गयो टेम्स लक्ष्य वनाएर
भेष गयो पेरिस, न्यूयोर्क ताकेर ।
छ तिम्रो आफ्नै प्रकार
सूदुर भएपनि
यता वुद्घ र वृद्घसँग छु सन्तुष्ट
वेला वेला देख्छु तिमीहरुलाइ
तरंगको वाटोमा
काफी छ यो खुशी
पर्याप्त छ यो खुशी ।