सेतो डाँफे / सविता गौतम दाहाल
सम्झौता स्याहारेर चुपचाप निदाउनु
वाध्यता हुर्र्काएर बाँच्नु
सिसिफस भइ रहनु
बर्षाै आफु र आफन्तलाई नभेट्नु
मेरो नियति !
झ्यालखान भित्रकै माटोमा मगमगाउनु
कुनै कुनै पारखी हत्केलाले
हाँगा निमोठेर लैजान खोज्नु
कसै कसैको सहृदयी मलजल पाउन
बर्षाै आफ्नो माटो र माया छुन नपाउनु
मेरो नियती !
जुन तारा उसैगरी उदाउनु
छाया छाया आफ्नै लयमा उदाउनु
हररात झलमल आकाश देख्नु
हर दिन तात्तिनु , हर झरी रुझनु
दुबोजस्तै उम्रीहाल्ने अमर आश संगाल्नु
बर्षौ आफ्नो देशको माटो र बाटो टेक्न नपाउनु
मेरो नियति !
मान्छे उस्तै , त्रास र भय सुनेकै जस्ता
कहिले अलि बढि , कहिले थोरै कम
न सुन्ने कोहि , न सुनाउने
बर्षौ आफ्नो भाषा र लवज बोल्न नपाउनु
मेरो नियति !
हर सपना हिमालसँग हाँस्नु
पहाड र देउराली उक्लनु
गहुँ र कोदोबारी सधैं सम्झनु
गएको पूर्णिमा रात
सेतो डाँफे उडेर म नजीक आउनु
उसका मजबुत पखेटामा आँटेर म बस्नु
र उड्नु देशतिर
कति स्निग्ध र स्वप्लिन
मेरो नियति !
यसपटक , कति सुखद मेरो उडान
पराइभूमि टाढा टाढा हुनु
म देश नजिक नजिक पुग्नु
सेतो डाँफेसंग सुरक्षित अनुभूति
अन्ततःआशिर्वादमय
मेरो नियति !