भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घर फर्केको मान्छे / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:25, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


घरको मायाले
घर फर्केको मान्छे
आफै घर भएर आइपुगेछ

त्यही आँगन
त्यही बलेँसी
त्यही सिकुवा
त्यही साँझ
त्यही मूल ढोका

त्यही बार्दली
त्यही आँखीझ्याल
त्यही धूपीको रुख
त्यही गमलाको फूल
त्यही सपनाको हुल

त्यही ढिकी
त्यही जाँतो
त्यही जून
त्यही चुराको छुनछुन
त्यही परेवाको गुनगुन
 
घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ

पच्चीस वर्षपछि
आज
तिमी पच्चीस वर्षअघिको
निश्चल
त्यही घरको यो करुणामयी सँघार
कुल्चिँदै-कुल्चिँदै
भित्र पस !

अहा !
कति सुग्घर गग्रेटो
चौका, ताक, खोपी
र बलिरहेको प्रेमको
त्यही दीप !

त्यही दीपको उज्यालोले
तिमी
हेर उसलाई
जहाँ-
तिम्रो चलिरहेको
राताम्ये बाल-तस्वीर
बेगमबेली फूलको झ्याङभरि
चुपचाप मुस्कुराइरहेछ
सुस्तरी-सुस्तरी...
तिमी अझ
भित्र पस !
एकदम भित्र पस !!

(अनुराधा ! तिमी छ्यौ र पो यो ‘नहुनु’ घर भएको छ)

घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ
यतिका वर्ष परदेशिएको
परदेशमा आफू कर्त छुटेनछ ।