भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सनकी तारा / श्रवण मुकारुङ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:31, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)
कसैलाई वास्ता छैन– उसको आगमनको ।
बरु छ–
भर्खरै,
त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको
खेतको आकाशलाई सानो झरीको दाग लागेका
धानको बाला थोरै उठेको
लाटोकोसेरो ढिलो उडेको
बरु छ–
भर्खरै,
त्यो बूढो बाजेको धार्मिक श्लोकभित्र सलबलाइरहेको पहेँलो कामुकता
त्यो मौन इनारबाट आइरहेको मिश्रित पुरुषवीर्य
र आलो बालिका रगतको गन्ध
बरु छ–
भर्खरै,
बिच्किएको बच्छ्यूझैँ सगरलाई चिल्दै
ओलम्पिकबाट आआफ्नो भूमि फर्किरहेका राता हवाईजहाजहरू
र तिनका राता आवेगहरू
कसैलाई वास्ता छैन – उसको आगमनको
तर ऊ,
सन्किरहेकछ, स्वप्नवत् सन्किरहेछ–
भर्खरै,
त्यो पूर्वको पहाडमाथि निस्केको युवाकविजस्तो तारा ।