प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! / कृष्णप्रसाद शर्मा रेग्मी
प्रातर् भयेछ कि सखी ! चिडिया कराये
श्रीसूर्यले अरुणकान्ति पनी फिंजाये ।
ताराहरु गगन-मण्डलमा हराये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१।।
ढोका खुले घरघरै घरघर् गराये
बाहीर कल्मल सुनिन्छ प्रभाति गाये ।
स्नानादि गर्न भनि लोक उठेर आये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।२।।
निन्द्रा सखी गयिछ भागि विदा नमागी
प्रीती छ यौटि यहि जालि कि साथ लागी ।
लौ अंजना पनि हिंडीछ सबै हराये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।३।।
सिन्दूर लत्पत छ कज्जल पूछ प्यारी
अल्सी हटाउ अब केश समाल सारी ।
शोभा-विहीन भई चन्द्र पनी विलाये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।४।।
जागा भयेर गर वन्दन इष्टलाई ।
छुट्टीन कष्ट छ अनी छ न ता मलाई ।
गर्नुहुँदैन विपरीत दिनेश आये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।५।।
होला पियारि ! कहिल्यै पछि पूर्ण धोका
आँटी मसक्क उठ सुस्त उघारी ढोका ।
बेर भो छिमेकिहरुले पनि चाल पाये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।६।।
भोली पनी दिन बितीकन रात पर्ला
आजै अतीचै नगरौं अब-गाल पर्ला ।
माला र फूल लिइ मालिनिहेरु आये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।७।।
प्रीतीबिना रहनु केहि हुंदैन राम्रो
प्रीती परस्पर चिरायु बनोस हाम्रो ।
बत्ती पनी घरघरै सबका निभायर्
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।८।।
देखिन्न शुक्र पनि अस्त भइसकेछ
तिर्मिर् हटीकन प्रकाश भईसकेछ ।
बाहीरिया सडकमा पनि झाडु लाये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।९।।
गर्छन् वरीपरि पनी सब हल्लिखल्ली
कल्ली लगाउ झटपट् खिंच वाहु-वल्ली
देऊ बिदा अब प्रिये ! सब साथि आये
प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।१०।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)