भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उद्घोष / सीमा आभास

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:27, 12 अप्रैल 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।

तपाईंको निन्द्रा र सपना
ध्यान, जप, तप मै हुँ
म नै हुँ तपाईंको नग्नता छोप्ने बस्त्र
तपाईंको अहंको सुरक्षाकवच
तपाईंलाई आराम दिलाउने घर ।

तपाईंभित्र हुर्हुरिने रीसको फिलुङ्गो म हुँ
तपाईंभित्रको भयंकर शैतान पनि म हुँ
इष्र्या र जलनले डामेको तपाईंको मस्तिष्क म हुँ
म नै हुँ तपाईंको मुटुभित्रको ढुकढुक
तपाईंको रगतभित्रको नदी
म नै हुँ तपाईंको प्राण ।

तपाईं जे–जे हो त्यो सबै म हुँ
म जे–जे हुँ तपाईं कुनै पनि हैन

म जे–जे हुइनँ त्यो पनि सबै म हुँ ।

तपाईं जहाँ–जहाँ उभिनुहुन्छ
त्यहाँ–त्यहाँ म थेगिदिन्छु तपाईंका पैताला
म जहाँ–जहाँ उभिन खोज्छु
त्यहाँ–त्यहाँ तपाईं भसाइदिनुहुन्छ मैले टेक्ने जमीन ।

तपाईंको सभ्यताको कठपुतली
तपाईंको अध्यात्मको भ्रम
तपाईंको नैतिक धरोहर
यी सारा साराबाट आजित छु म ।

तपाईं नहुँदै पनि फेरेको छु सास मैले
हिंड्न सक्छु म आफ्नै पैतालाले
आफैं पुछ्न सक्छु पसिना आफ्नो
उद्घोष गर्छु
नसामा धुकधुकी ब्यूँताएर
उतार्नेछु अब मेरो खाँट्टी रुप ।

तपाईंको चेतना जगाउने ज्योति पनि मै हुँ
तपाईंको शरीर बँचाउने आत्मा पनि मै हुँ ।
अब भन्नुस् जीवित तपाईं हो या म ?