भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिवर्तनका लागि / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:27, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म दुईओटा हातहरू दिन्छु
सृजनशीलताले परिपूर्ण
दसओटा औँलाहरू दिन्छु
कर्मभूमिलाई सुन्दर बनाउन
जन्मभूमिलाई उर्वर बनाउन
उठून् सहस्र ठेलाहरू
म अजस्र ऊर्जा बोकेका
दुईओटा पाखुराहरू दिन्छु ।

म मेरा मधुर सुसेलीहरू दिन्छु
म मेरा सशक्त बोलीहरू दिन्छु
न्यायको पक्षमा बोल्नुपर्दा
सत्यको समर्थनमा लाग्नुपर्दा
म अक्षय हुङ्कारहरू दिन्छु
म दृढ सङ्कल्पहरू दिन्छु

मुक्तिका लामा अभियानहरूमा
निरन्तर अविरल चल्न
सङ्कल्परत मेरा सबल पैतालाहरू दिन्छु
पहाडहरूलाई पछि सार्न
नदीहरूको बहावविपरीत हेलिन
म मेरो उत्साह र साहस दिन्छु
म मेरो जाँगर र आत्मविश्वास दिन्छु

तिमी ज्यावल र औजारहरू तयार गर
सबै अटाउने सबै रमाउने
सुन्दर घरको निर्माणमा
सबै हाँस्ने सबै नाच्ने
सामूहिक रहरको प्राप्तिमा
म श्रम र पसिना दिन्छु
म धैर्य र साहस दिन्छु

शब्दमात्र होइन जीवनको सार दिन्छु
सम्पूर्ण गति दिन्छु, प्रगति दिन्छु
धोद्रो रूखजस्तो
बूढो र जर्जर परिवेशलाई ढाल्न
म अदम्य साहस र चुनौती दिन्छु
तिमी होस्टे गर म हैँसे दिन्छु
पसिनामात्र हैन मुटुको रगत पनि दिन्छु ।