भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अक्षरका फूलहरू / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:35, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अक्षरले उभ्याएका
अपत्यारिला, अजङ्ग पर्खालहरू बीच
नामेट तिमीले पठाएको अलिखित खबर
मात्र
सम्पूर्णताको महाशून्य
एक अन्तिम सत्य
 
अर्थहरूसँग डुबेर
भत्काइदिन चाहन्छु म
यी सन्त्रासयुक्त झोलुङ्गेपुलहरू
बालुवाका मनहरूबाट उधिनेर
भाव-स्वर्ण-कणले
उभ्याउन चाहन्छु
हृदयका पक्की पुलहरू
स्नीग्ध श्रृङ्खलामा आबद्ध
प्रतिविम्वित एक सजीव-ध्वनी
 
मेरो दैनिकीमा
तिम्रो सम्झनाबाहेक
त्यस्तो उल्लेख्य केही रहेन
पूरानो पाण्डुलिपिजस्तो
पल्टाउँदै, बन्द गर्दै
अनिच्छापूर्वक थुपारेको जीवन
अप्रकाशित प्रत्यक पानाहरू
भएर पनि नभएजस्तो
तिमीले सुनाएको अर्धसत्य-कविता
 
नामेट तिमीले पठाएका अलिखित खबर
मात्र
सम्पूर्णताको महाशून्य
एक अन्तिम सत्य

म अक्षरलाई
बीऊजस्तै रोप्छु
यथार्थको खेतमा
अनुभूतिका मलजल दिएर
म अक्षरलाई
बिरुवाजस्तो उमार्छु
 
मेरा पीडा र खुसीहरू
घाम र पानीझैँ वरण गरेर
हुर्कदै जान्छन् ती
समयको पर्यावरणमा
खात-खात अक्षरका बीऊहरू
ज्यान भरिएर
शब्द- भावमा फैलन्छन्
सिङ्गा अनि सार्थक
तिनका बचाइमा
म आफ्नो सिर्जना देखेर रमाउँछु
 
मैले हुर्काएका शब्द-सन्तानहरू
साङ्ग होऊन्
पवित्र होऊन्
सुन्दर होऊन्
समयको कुरूपताभन्दा पर
म सुनौलो बस्ती बसाउन चाहन्छु
 
पीडा भुलेर गर्भको
हत्केलामा उठाउँछु- शब्द-थुँगाहरू
प्रत्यक थोपाहरूको सञ्चितिमा
अक्षरहरूको मेलमा
धर्ती अर्थपूर्ण भएर जग्मगाउँछ
आकाश सङ्गीतमय भएर गुञ्जन्छ
ए ! जीवनका उपासकहरू
मेरो कोखमाथि शङ्का गर्न छोडिदेऊ
यो शताब्दीको अँध्यारोलाई बिदा गर्न
अक्षरभन्दा उज्यालो उपहार
अर्को के हुन सक्छ ?