भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सहयात्री उज्यालोको खोजी / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:13, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

घाम घामजस्तै उदायो भने
बिहान बिहानजस्तै रमायो भने
घाम रमाएको बिहानजस्तो
अनुहारहरूमा उदाउनेछ
सुन्दर दिनको प्रतिबिम्व
 
हरेक रात
उस्तै हुँदैनन् निद्राहरू
हरेक निद्रामा
उस्तै हुँदैनन् सपनाहरू
सपनाहरूको आँखा हो घाम
आँखाहरूको बाटो हो सपना
सपना र आँखाको यात्रामा
सहयात्री पाइला हुनुपर्छ घाम
 
यसपटक
धेरै गहिरो रातबाट
एकाएक
निद्राभन्दा पहिले ब्यूँझिए सपनाहरू
र उठे
नयाँ बिहानको खोजीमा
एक मुस्लो आवाज भएर उठे
 
सपनाहरू अस्त्र थिए
सपनाहरू सस्त्र थिए
अशान्त रातहरू च्यातेर
काला अवशेषहरू भत्काएर
फालेर
पर्खिरहे सपनाहरू
पर्खिरहे आँखाहरू
सहयात्री घामसँग
पर्खिरहे
उज्यालो यात्राको शुभारम्भ।