साचिको सान / गीता त्रिपाठी
साकुरा र शिरिषको जम्काभेटजस्तै
तिम्रो र मेरो भेट
एकदिन
अनायासै भयो ।
के विधि फुलेकी तिमी
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू
साँच्चिको सान !
मलाई जान्न मन लागेथ्यो,
तिम्रो नामको अर्थ !
तिमी शब्दहरूभन्दा
ज्यादा सुन्दर देखिन्थ्यौ
अर्थहरूभन्दा
ज्यादा गम्भीर देखिन्थ्यौ
त्यो दिन
मेरो बुझाइमा तिमी
गुराँसैगुराँस थियौ
साकुरैसाकुरा थियौ
भन त
शब्दले कसरी भर्नसक्छ,
ती मुटुका रङहरूलाई ?
चुलबुले छोरीजस्ती तिमीले
त्यो दिन
वात्सल्यका अभेद्य कुरा गर्यौ
कहाँ हुँदो हो ममताको सीमा !
अन्तहीन ममताले भिजाएर मन
सृष्टिलाई सम्मान गर्यौ
माया गर्यौ,
सिम्रिक, बुद्ध अर्थात् जीवनलाई ।
मेरो तीजमा बेरिएकी तिमी
मीठो कविता भएर
आफ्नो तिहार पर्खिरह्यौ
कसरी ल्याउनसकेको होला,
त्यो तालजस्ता आँखामा
खुसी र उदासी
एकैचोटि ।
साँच्चिको सान !
भन त
त्यो दिन तिमी
गुराँस थियौ कि साकुरा ?
या तिम्रो अनुभूतिमा
थियो त्यो दिन- ओस्याउगाचु ?