नाम हाम्रो कुमारबहादुर
जातचाहिँ नेपाली;
काम लेख-पढ गर्ने
शिक्षण पेसा भएका हामी
हामी देशका कुमारबहादुरहरू;
मिहिनेत गरेर पढ्छौं
एउटा पवित्र पेसा सम्झिएर
पढाउने काममा लाग्छौं;
आफू पढ्छौं, अरूलाई पनि पढाउँछौं
इष्टमित्र पढाउँछौं,
आफन्त पढाउँछौं
भाइ, छोरा छोरी पढाउँछौं
सबैलाई सँधै पढाउँछौं,
उनीहरू समर्थ बन्दै गएपछि
सबै पैतृक सम्पत्तिहरू बाँडिदिन्छौँ,
सकेसम्म आफूले कमाएको पनि दिन्छौं
हुँदाहुँदै आफू एक्लो हुन्छौं
रोगी हुन्छौं र बिरामी हुन्छौं।
२.
हामी कुमारबहादुरहरू
ओखती गर्ने वेलामा
पैसा नपाएर छट्पटाउँछौं
आफन्तलाई गुहार्छौं,
रून्छौं, कराउँछौं र भीक माग्छौं
ढुङ्गो पग्लिए पनि नपग्लिने
आफ्नाहरूबाट हार मानेपछि
संघ, संस्था, सरकार र
साथीहरू गुहार्छौं;
पैसा नपुगेर बाँच्न छटपटाएका
हामी कुमारबहादुरहरू,
जान्नेहरू भन्ने गर्थे
'पानी र माया सँधै ओरालो बग्छ' भनेर
हो माया सँधै ओरालै मात्र बग्दो रहेछ
आफूले हेरे पनि आफ्नै भाइबन्धु र
सन्तानले नहेरेपछि
विवश, व्याकुल र काँतर
हामी मरणशील कुमारबहादुरहरू।