भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलाई बाँच्न देऊ / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:43, 29 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


१.
मलाई बाँच्न देऊ,
मलाई हाँस्न देऊ,
जीवनका प्रत्येक श्वासबाट निस्किएका
यी सुस्केरालाई छोडी
यही मायाको संसारमा
यही धरतीको आधारमा
अनि मेरै एकलौटे घरबारमा
आज मलाई खेल्न देऊ,
पीरको आँसु होइन
जीवनको मूल्य देऊ,
मलाई हाँस्न देऊ,
मलाई बाँच्न देऊ।

२.
ऊ पारिपारि देखिएका
ती डाँडाका चुचुराहरूमा
त्यो विशाल चौरीमा र
त्यो धुस्रो फुस्रो जङ्गलमा
अनि ती प्रत्येक खेत र बारीमा समेत
सबैको काँचुली बदलिइसक्यो,
जीवनमा हरियाली छाइसक्यो,
त्यसैले,
जिउँदो मुद्दा बनाएर होइन,
चर्को घाममा पिल्सिएको
कलिलो पालुवा बनाएर होइन,
मेरो जीवनमा पनि
बर्सादको हरियाली छाउन देऊ,
मलाई बाँच्न देऊ।

३.
हिउँदमा सुकेको त्यो खोलो
आजको यामले गर्दा
फेरि रसाइसक्यो,
नौलो मायालाई जन्माएर
कति सुसाइसक्यो,
यो अँध्यारो रात
सुनसानको श्मशान झैँ ठानी
त्यो कोइली
एक्लै भौँताइरहेकी होली,
विरहको ज्वालामा जलीजली
कठै !
त्यो न्याउली कति रोइरहेकी होली,
त्यसैले, यो मृत्युको काखमा होइन,
मलाई त्यहाँ जान देऊ,
उनीहरूको आँसुलाई पुछ्न देऊ,
मलाई बाँच्न देऊ ।

४.
म निर्दयी मानव होइन,
मलाई श्मशान होइन
मायाको संसार चाहिन्छ,
हरियो जीवन चाहिन्छ,
म जिउँदो मुर्दा भएर
एक्लै बाँच्न चाहन्न,
त्यसैले,
मलाई त्यो शीतल पहाडमा
फेरि जान देऊ,
त्यो हरियो जङ्गलमा
फेरि गीत गाउन देऊ,
चरीको मधुर गुञ्जनका साथ
मलाई प्रकृतिको काखमा
नाची नाची खेल्न देऊ,
मलाई बाँच्न देऊ।