Last modified on 29 अप्रैल 2020, at 11:49

मलाई उनकै माया लाग्छ / दैवज्ञराज न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:49, 29 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


१.
स्वतन्त्र देशको खुला हावामा हुर्किएकी
प्रकृति आमाको काखमा खेलेकी,
मेरो श्रद्धाले गर्दा मेरै बनेकी,
हँसिली स्वतन्त्र जीवनसँगिनी,
यो स्वार्थी समाजको घोर अन्धकारमा
कल्पी कल्पी रोइन् जस्तो लाग्छ
हृदयको उत्पीडनलाई सहन नसकी,
आँसु झार्दा झार्दा खिइन् जस्तो लाग्छ
अनि मलाई एक्लै छोडी,
कतै गइन् जस्तो लाग्छ,
मलाई उनकै माया लाग्छ।

२.
यो मेरो वियोगको बेला
कहाँ कहाँ टाढाको प्रवास जस्तो लाग्छ,
ती सुखपूर्ण र उल्लासयुक्त अतीतका घटना सम्झी सम्झी
मलाई चौपट्टै रुन मन लाग्छ,
हिँड्दा हिँड्दा थकित बनेको यस संसारमा
कता कता उनकै झझल्को लाग्छ,
अनि मेरी सँगिनी
यहीं हो वा अन्तै छन् कि जस्तो लाग्छ
मलाई उनकै माया लाग्छ।

३.
सौभाग्यको ढोका खोल्न तम्सएकी उनी
कर्तव्यको साँचो लुटिएकोमा
त्यो विशाल ढोका फोर्न नसकी
बीचमै जिल्लिरहिन् कि जस्तो लाग्छ,
मेरो सङ्केतमा
मन्द मुस्कानले मेरो भाव स्वीकार गर्ने
मेरी स्वतन्त्र जीवन सँगिनी
ती लजालु आज यहाँ छैनन् जस्तो लाग्छ,
उनीसँग आनन्दसाथ बिताएका
ती सुनौला दिन
फेरि कहिले आउलान् नि जस्तो लाग्छ,
मलाई उनकै माया लाग्छ।