भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भीडमा मान्छे / अभय श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:14, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अभय श्रेष्ठ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

(नपुगेको ठाउँ पुग्न त्यही बाटो हिँ ड्नुपर्छ जहाँ तिमी हुँदैनौ- टिएस इलियट)

एउटा विशाल भीडमा
म खोज्दैछु अनुहारहरू ।

अनन्त समुद्रजस्तो यो भीडमा
अनगिन्ती टाउकाहरू छन्
अनगिन्ती शरीरहरू छन्
अनगिन्ती जुत्ताहरू छन्
तर, कहीँ कतै
स्पष्ट अनुहार छैन
अनुहारका ठाउँमा
उस्तैउस्तै देखिने केबल मुखुण्डाहरू छन् ।

अनुहारहरू क्रमशः
परिणत भइरहेछन् भीडमा
तर, परिणत भइरहेको छैन भीड अनुहारमा
भीडमा त्यसैगरी सत्य पनि भइरहेछ गायब
जसरी गायब भइरहेछन् अनुहारहरू ।

यो विशाल भीडमा
म खोजिरहेछु अनुहारहरू
तर, कहीँ कतै अनुहार छैन
चुनौती दिन चाहन्छु म यो अनुहारहीन भीडलाई
उभ्याउन चाहन्छु एउटा स्पष्ट अनुहार
आफ्नै अनुहार ।

तर, खोइ कहाँ छ मेरो अनुहार –
आह ! मेरै अनुहार पनि त गायब छ यो भीडमा !