यात्रा / अभय श्रेष्ठ
यिनै रगत बगेका खोलाहरू तर्दै
यिनै हाँगा-हाँगामा लाशका टुक्रा फलेका रुख
यिनै मान्छेका हड्डी कोचिएका टोड्काहरू हेर्दै
विषाद र दुःखका अविरल आँसु चुहाउँदै
जिन्दगीको हरियालीको खोजीमा सुरु गरेका थियौँ यात्रा हामीले ।
हिँडिरह्यौँ-
हामी कति काँडैकाँडा टेकेर हिँडिरह्यौँ
कति भीरैभीर कुदिरह्यौँ
धैरै हिँड्यौँ जंगलै जंगल
धेरै हिँड्यौ भत्भती पोल्ने बगर ।
हिँड्दा हिँड्दा आज
बर्षौँपछि फेरि उही रगतको खोलाको किनारमा
आइपुगेका छौँ हामीहरू
फेरि लाम लागेका छन्
लाशका टुक्रा फलेका रुखहरू
र, मान्छेका हड्डी कोचिएका टोड्काहरू ।
बढ्दैछ, निरन्तर बढ्दै बढ्दै आइरहेछ
रगतको बाढी नदीहरूमा
ओर्लँदै ओर्लँदै आइरहेछन् गिद्धहरू
बग्ने क्षण कुरेर बसिरहेछौँ हामी रगतका नदीका किनारहरूमा
हो, कुरिरहेछौँ हाम्रा शरीरका टुक्रा कोचिने क्षण यिनै टोड्काहरूमा ।