एक शिक्षकको बयान / दीपक शम्चू
बतासझैँ बहकिरहने चञ्चल नानीहरूलाई
कक्षाभित्र कैद गरी
एकोहोरो फिजाइरहेँ ज्ञानको बिस्कुन ।
आकाश उड्ने चराहरू रोकेर हिँड्न लगाएँ ।
सागर पुग्ने माछाहरू बल्छीमा अल्झाएर
पोखरीमा रम्न सिकाएँ ।
आमाको साथ छोडी आएका हत्केलामा
सुम्लो बस्नेगरी चेतावनीको थुङ्गा राखिदिएँ
मायाको चुम्बन पोत्नुपर्ने गालामा
सावधानीको थप्पडहरू वर्षाएँ
र लखतरान बाहिरिएँ
झरीमा गाईबाख्रा चराएर फर्किएको गोठालोझैँ !
उनीहरूका कोमल हृदयमा कठोर भावना रोपेँ हुँला
शान्त मनको तलाउमा विद्रोहको ज्वाला झोसेँ हुँला
निर्दोष आँखामा आँसु बालेर श्राप तापेँ हुँला ।
मोतीको चमक भर्न हिडेको हुँ पालुवामा
अङ्कुरा पलायो कि पलाएनन् ?
कोपिला फव्रिmएर फुल्यो कि फुलेनन् ?
अब त धेरै भो
एकैछिन विश्राम लिएर
पाठ पढाउने पालो
उनीहरूलाई नै दिनुपर्ला ।